काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले उत्पादनसँग तालमेल हुने गरी शिक्षालाई जोड्न आवश्यक रहेको बताएका छन् ।
नेपाल उद्योग परिसंघको पदाधिकारी टोलीसँग बिहीबार भएको छलफलमा उनले उत्पादनलाई शिक्षासँग जोड्न सरकारले उच्च प्राथमिकता दिएको पनि बताए । शिक्षामा निजी क्षेत्रको सहभागिता अनिवार्य रहेको भन्दै उनले यसलाई उत्पादनसँग समेत जोड्न निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता पनि जनाए । परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सीपयुक्त जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिए ।
परिसंघले उद्योगसँग शिक्षा र सीपलाई आबद्ध गर्न खोजिरहेको भन्दै उनले त्यसका लागि नीतिगत सुझाव दिन एवं गतिविधि गर्न परिसंघमा शिक्षा तथा सीप समिति गठन गरेको जानकारी दिए । अध्यक्ष पाण्डेले परिसंघले शिक्षालाई उद्योगसँग जोड्ने मुख्य उद्देश्यसहित नेपालका विभिन्न विश्वविद्यालयहरुसँग समझदारी गरेको जानकारी समेत गराएका थिए ।