काठमाडौ । सिटिजन्स सदाबहार योजनाको एकाइ बाँडफाँट सम्पन्न भएको छ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेकोे प्रथम खुलामुखी योजना सिटिजन्स सदाबहार योजना सञ्चालन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट सञ्चालन अनुमति प्राप्त भई मिति २०८२ असार १३ गतेदेखि मिति २०८२ असार २७ गतेसम्म एकाइ सार्वजनिकरूपमा निष्काशन तथा बिक्री खुला गरिएकोमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूमार्फत माग गरिएभन्दा अधिक मात्रामा दरखास्त प्राप्त भएको कम्पनीले जानकारी दिएको छ ।
उक्त निष्काशनमा प्राप्त आवेदकहरूको विवरणअनुसार बाँडफाँट समितिको बैठकले तयार पारेको बाँडफाँट तालिका नेपाल धितोपत्र बोर्डमा पेस गरिएकोमा धितोपत्र बोर्डबाट कुनै कैफियत तथा निर्देशन प्राप्त नभएकोले सोही तालिकालाई अन्तिम रुप दिई धितोपत्र बोर्डको धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ बमोजिम यही साउन १५ गते बिहीबारका बिहान १०ः३० बजे योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको कार्यालय डिल्लीबजार, काठमाडौंमा योजना व्यवस्थापकका प्रतिनिधिहरू, कोष प्रवद्र्धकका प्रतिनिधि, सीडीएस एन्ड क्लियरिङ लिका प्रतिनिधि तथा केही लगानीकर्ताहरूको उपस्थितिमा बाँडफाँट गर्ने कार्य सम्पन्न भएको छ ।
यो खुलामुखी योजना सिटिजन्स सदाबहार योजना निष्काशन अवधिभित्र आवश्यकभन्दा बढी संख्यामा एकाइको माग प्राप्त भई नेपालकै पहिलो २५ प्रतिशतले ओभर सब्सक्राइब भएको खुलामुखी म्युचुअल फन्ड बन्न सफल भएको छ । यसका लागि उल्लेख्य सहभागिता जनाउने सम्पूर्ण लगानीकर्ता, विभिन्न क्षेत्रबाट सहयोग तथा सद्भाव प्रदान गरी एकाइ निष्काशन कार्यलाई ऐतिहासिकरूपमा सफल बनाउनु हुने सम्पूर्ण शुभेच्छुक, आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, नियामक निकायहरू, सञ्चारकर्मीलगायत सरोकारवाला सबै पक्षलाई निष्काशन तथा बिक्री प्रबन्धक÷योजना व्यवस्थापकको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यहाँहरूको यस्तै सहयोग र सद्भावको अपेक्षासहित सबैमा हार्दिक धन्यवादज्ञापन गरेको जनाएको छ ।
सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श लगानी व्यवस्थापन र म्युचुअल फन्डमा निरन्तर नयाँ आयामहरू थप्दै ग्राहकहरूलाई पूर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ तथा सबिर बादे श्रेष्ठ रहेका छन् । नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरूसँग प्रत्यक्ष सरोकारका कामहरू गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा श्री कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजारस्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रार कार्यालय रहेको छ ।
काठमाडौं बाहिरका लगानीकर्ताहरूले पुँजी बजारमा प्रत्यक्षरूपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर)को सेवा सिटिजन्स बैंकका देशभरिका सम्पूर्ण शाखा कार्यालयहरूबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरूलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समूहबाट सेवा प्रदान गर्दै आएको छ ।