अमेरिका । सवारीसाधन कम्पनी फोर्डले संयुक्त राज्य अमेरिकाले लगाउने करवृद्धिले कम्पनीलाई यो वर्ष २ अर्ब डलर लागत बढाउने बताएको छ । आफ्ना अधिकांश उत्पादन अमेरिकामा गरिरहे पनि करवृद्धिको प्रभाव उत्पादन लागतमा पर्ने कम्पनीले जनाएको हो ।
जुनसम्म सकिएको त्रैमासिकमा नै कम्पनीले ८० करोड डलर अतिरिक्त भुक्तानी गर्नुपरेको थियो । यसबाहेक विद्युतीय सवारी कार्यक्रममा पनि घाटा व्यहोर्नुपरेको थियो । यो अमेरिकी राष्टरपति डोनाल्ड ट्रम्पको करवृद्धिको प्रभाव हो । ट्रम्प विश्व आपूर्ति शृंखलालाई पुनराकार दिने प्रयासमा छन् ।
यद्यपि प्रतिस्पर्धी कम्पनीको तुलनामा फोर्डमाथि करवृद्धिको निकै कम प्रभाव परेको बताइएको छ । फोर्डका वित्त प्रमुख शेरी हाउसका अनुसार मेक्सिको र क्यानडामा लगाइएको लेभीका कारण कम्पनीको व्यवसाय लागतमा पर्ने असरको पूर्वानुमान गरिएको हो । उनले आयातित आलुमुनियम र स्टिलमाथि बढ्ने करतर्फ पनि संकेत गरिन् ।
गत हप्ता प्रतिस्पर्धी जनरल मोटर्सले यसअघि नै करवृद्धिले १ अर्ब डलरभन्दा धेरै लागत बढेको बताएको थियो । यस्तो लागतवृद्धि फक्सवागनले डेढ अर्ब डलर रहेको बताएको थियो । फोर्डका प्रमुख कार्यकारी जिम फार्लेले ह्वाइटहाउससँग निरन्तर सम्पर्कमा रहेको बताउँदै विशेषतः सवारी पार्टपुर्जामा कम शुल्कवृद्धिको लागि आग्रह गरेको बताए ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरैजसो वस्तुमा आयातशुल्क बढाएका छन् । त्यसमाथि कार र कारका पार्टपुर्जालाई लक्षित गरी विशेष करवृद्धि गरेका छन् । यो सबै अमेरिकामा नै उत्पादन होस् भन्नका लागि गरिएको ट्रम्पले बताउने गरेका छन् । बुधबार फोर्डको आम्दानी घोषणापछि न्युयोर्क स्टकमा सेयर मूल्य डेढ प्रतिशतले घटेको थियो ।