अमेरिका । प्रविधिनिर्माता माइक्रोसफ्ट संसारकै चार ट्रिलियन अमेरिकी डलर बजार मूल्यांकन भएको दोस्रो कम्पनी बनेको छ । बिहीबार कम्पनीको मूल्यांकन ४० खर्ब डलर पुगेको सीएनएनले जनाएको छ ।
बिहीबार कम्पनीको सेयर साढे ४ प्रतिशतले बढेसँगै यो सफलता प्राप्त भएको हो । सोसँगै कम्पनीको मूल्यांकन ४० खर्ब १० अर्ब अमेरिकी डलर पुगेको थियो । यो वर्ष कम्पनीको सेयर निरन्तर वृद्धि हुने क्रममा २८ प्रतिशतले बढेको छ । ३० खर्ब डलर मूल्यांकन पुगेको डेढ वर्षपछि माइक्रोसफ्टले यो कोशेढुंगा पार गरेको हो ।
सन् २०१९ अप्रिलमा कम्पनी पहिलोपटक १० खर्ब डलर मूल्यांकनयुक्त बनेको थियो । यसअघि यही महिनाको सुरुतिर पहिलोपटक एनभिडिया संसारकै पहिलो ४० खर्ब डलर बजार मूल्यांकन हुने कम्पनी बनेको थियो ।
माइक्रोसफ्टले बुधबार मात्रै आफ्नो अज्युर क्लाउड कम्प्युटिङ व्यवसाय व्यापक बढेको र आफ्नो कृत्रिम बौद्धिकताको महत्वाकांक्षालाई इन्धन भर्ने गरी चालू आर्थिक वर्षमा ३० अर्ब डलरको कीर्तिमानी खर्च हुने पूर्वानुमान गरेको थियो । वालस्ट्रिटका विश्लेषकहरुले कम्पनीको कोपाइलट एआई च्याटबटले कम्पनीको व्यवसाय बढाएको आकलन गरेका छन् ।