सन्धिखर्क । अर्घाखाँचीमा १० करोड ७१ लाख २९२ रुपियाँको काठ बिक्री भएको छ । डिभिजन वन कार्यालय अर्घाखाँचीले आर्थिक वर्ष २०८१/८२ मा सामुदायिक वनले छ करोड ३९ लाख ५० हजार र निजी तथा आवादी वनले चार करोड ३१ लाख रुपियाँकोे काठ बिक्री गरेको जनाएको छ ।
डिभिजन वन कार्यालयले जिल्लाका छ पालिकामा ३१ वटा समुदायिक वनमा भएको काठ बिक्रीबाट जिल्लामा राम्रो आम्दानी हुने गरेको जनाएको छ । कार्यालयका सूचना अधिकारी केशर खड्काका अनुसार आम्दानीको ४० प्रतिशत रकम वन संरक्षण व्यवस्थापनमा छुट्याउने गरिएको र बाँकी रकम स्थानीयदेखि केन्द्रसम्म कर बुझाउँदा खर्च हुने गरेको छ । वन संरक्षणसँगै बोटविरुवा रोपण र जंगललाई आगालागीबाट जोगाउन अभियान सञ्चालनको योजना बनाइएको खड्काले बताए ।
कार्यालयले वन क्षेत्रमा आम्दानी हुने बोट बिरुवा रोपण गर्नुपर्ने जोड दिदै काठसँगै जडिबुटीको पनि संकलन र प्रशोधनमा ध्यान दिनुपर्ने जनाएको छ । डिभिजन वन कार्यालयले गएको चैत वैशाखमा वन डढेलो नियन्त्रणका लागि समुदायमा अभियान सञ्चालनका साथै जंगलमा स्वंयमसेवक खटाएको थियो ।