काठमाडौं, अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षका लागि मान्य हुने भएको छ। सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गर्दै यो व्यवस्था औपचारिक रूपमा लागू गरेको हो।सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५४ को उपदफा ३ संशोधन गरी पहिलेको ५ वर्षे बहाल अवधिलाई १० वर्ष कायम गरिएको छ। अब सवारी चालक अनुमतिपत्र नविकरण गर्दा पनि सोही अनुसार १० वर्षका लागि मान्य हुनेछ।
यसअघि, लाइसेन्स नविकरण गर्दा ५ वर्षको अवधि मात्र मान्य हुन्थ्यो। नयाँ संशोधित व्यवस्थाले चालकहरूलाई बारम्बार नविकरणको झन्झटबाट मुक्ति दिने अपेक्षा गरिएको छ।यसै विधेयकमा प्रदूषण परीक्षण तथा सवारी जाँच केन्द्रहरूमा निजी क्षेत्रलाई पनि समावेश गर्न सकिने व्यवस्था गरिएको छ। अब सरकारी केन्द्रहरूसँगै निजी प्रदूषण परीक्षण केन्द्रहरू सञ्चालन गर्ने बाटो खुल्ने भएको हो। यातायात व्यवस्था विभागका अनुसार यो परिवर्तनले सेवाको गुणस्तर र प्रभावकारिता बढाउने छ भने सवारी व्यवसायमा निजी क्षेत्रको सहभागीता थप बलियो हुने अनुमान गरिएको छ।
