काठमाडौं,बुधबार राति १२:३० बजे महाराजगञ्जस्थित होटल साम्बालामा प्रहरीले छापा मार्दै गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जनालाई नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धानपछि १९ जनाविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको छ भने २८ जनालाई हाजिर जमानीमा छाडिएको प्रहरीले जानकारी दिएको छ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाएको थियो। एसपी कूलदीप चन्दका अनुसार, प्रारम्भिक अनुसन्धानमा संलग्नता नदेखिएका व्यक्तिहरूलाई हाजिरी जमानीमा रिहा गरिएको हो।
प्रहरीले मुद्दा चलाएका १९ जनामा चक्रे मिलनका साथै गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतीक लामा, चन्द्रदेव कार्की, जितबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही रहेका छन्।
उनीहरूमाथि थप अनुसन्धान गर्न ७ दिनको म्याद थप गरिएको छ भने बाँकी पक्राउ परेकाहरुलाई आफन्तको जिम्मा लगाइएको छ। प्रहरी स्रोतका अनुसार, यो कारबाही पछिल्लो समय राजधानीमा गुण्डागर्दी र आपराधिक समूहहरू सक्रिय बन्दै गएको पृष्ठभूमिमा गरिएको सन्देशमूलक अपरेशन हो।