धनगढी, कैलालीको बर्दगोरिया गाउँपालिकामा एक १७ वर्षीया किशोरीको चक्कु प्रहार गरी हत्या भएको छ। बर्दगोरिया गाउँपालिका–३ घर भएकी याचना सेजवालको आफ्नै कार्यस्थलमा सहकर्मी युवकद्वारा हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।सेजवाल सोही गाउँपालिका–१ मा रहेको राजधानी सेकुवा एण्ड म:म सेन्टर मा कार्यरत थिइन्। शनिबार बिहान करिब १० बजे उनलाई त्यही सेन्टरमा काम गर्ने ३३ वर्षीय नृप साउदले चक्कु प्रहार गरेका थिए। प्रहरीका अनुसार, गम्भीर घाइते अवस्थामा उनलाई तत्काल उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पुर्‍याइएको थियो। तर उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।सेजवालको शव अहिले सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ। घटनाको कारण अझै खुल्न सकेको छैन भने प्रहरीको टोलीले साउदलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको जनाएको छ। स्थानीय बासिन्दा र पीडित परिवारले घटना दुःखद र निन्दनीय भएको भन्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन्।