काठमाडौं ।विकास बैंकहरुको कुल चुक्ता पुँजी झण्डै एक अर्ब रुपैयाँले थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१÷८२ को पछिल्लो ११ महिनामा सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरुको कुल चुक्ता पुँजी ४३ अर्ब दुई करोड ४० लाख रुपैयाँ पुगेको हो । यो चुक्ता पुँजी अघिल्लो आवको सोही अवधिको तुलनामा ८५ करोड ३० लाख रुपैयाँले बढी हो । अघिल्लो आवको सोही अवधिमा विकास बैंकहरुको कुल चुक्ता पुँजी ४२ अर्ब १७ करोड १० लाख रुपैयाँ रहेको थियो । राष्ट्र बैंकका अनुसार विकास बैंकहरुमध्ये राष्ट्रियस्तरको महालक्ष्मी विकास बैंकले आव २०८१÷८२ को पछिल्लो ११ महिनामा चार अर्ब २९ करोड ६४ लाख ६० हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । गत आवको सोही अवधिमा यो बैंकको चुक्ता पुँजी चार अर्ब १७ करोड १३ लाख २० हजार रुपैयाँ रहेको थियो ।
क्षेत्रीयस्तरको नारायणी र कर्णाली डेभलपमेन्ट बैंकले पनि पछिल्लो अवधिमा क्रमशः २६ करोड २४ लाख ७० हजार र ५० करोड २८ लाख ३० हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । अघिल्लो आवको सोही अवधिमा पनि यी बैंकहरुमा सोही परिमाणको चुक्ता पुँजी कायम थियो ।
राष्ट्रियस्तरको सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पुँजी पनि पछिल्लो अवधिमा तीन अर्ब ५५ करोड ५२ लाख ६० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यो बैंकको चुक्ता पुँजी तीन अर्ब ४३ करोड नौ लाख ७० हजार रुपैयाँ रहेको थियो । क्षेत्रीयस्तरको एक्सेल र मितेरी डेभलमेन्ट बैंकले भने आव २०८१÷८२ को पछिल्लो ११ महिनामा क्रमशः एक अर्ब २४ करोड ९६ लाख ८० हजार र एक अर्ब २१ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । अघिल्लो आवको सोही अवधिमा यी दुई बैंकहरुको यस्तो चुक्ता पुँजी क्रमशः एक अर्ब २४ करोड ९६ लाख ९० हजार र एक अर्ब ११ करोड १४ लाख ३० हजार रुपैयाँ रहेको थियो । यसैगरी, मुक्तिनाथ, गरिमा र कामना सेवा विकास बैंकले पछिल्लो अवधिमा क्रमशः सात अर्ब चार करोड ६९ लाख ४० हजार, पाँच अर्ब ६८ करोड पाँच लाख २० हजार र तीन अर्ब ५१ करोड आठ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । अघिल्लो आवको सोही अवधिमा भने यी बैंकहरुले क्रमशः सात अर्ब चार करोड ६९ लाख, पाँच अर्ब ६८ करोड र तीन अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी कायम गरेका थिए ।
कर्पोरेट डेभलपमेन्ट बैंकले पनि पछिल्लो अवधिमा ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । अघिल्लो आवको सोही अवधिमा पनि यो बैंकमा सोही बराबरको चुक्ता पुँजी थियो । ज्योति, शाइन रेसुंगा र लुम्बिनी विकास बैंकले आव २०८१÷८२ को पछिल्लो ११ महिनामा क्रमशः चार अर्ब ३९ करोड ५७ लाख ९० हजार, चार अर्ब ८७ करोड ५७ लाख र तीन अर्ब ६२ करोड ८६ लाख ८० हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । अघिल्लो आवको सोही अवधिमा यी बैंकहरुको चुक्ता पुँजी क्रमशः चार अर्ब ३९ करोड, चार अर्ब ७३ करोड र तीन अर्ब ५१ करोड रुपैयाँ थियो । क्षेत्रीयस्तरमा वित्तीय कारोबार सञ्चालन गर्दै आएको सिन्धु र साल्पा विकास बैंकले पनि पछिल्लो अवधिमा क्रमशः ५५ करोड ७४ लाख र ३५ करोड रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । अघिल्लो आवको सोही अवधिमा यी बैंकहरुको यस्तो चुक्ता पुँजी हालकै बराबर थियो । क्षेत्रीयस्तरकै सप्तकोशी र ग्रिन डेभलपमेन्ट बैंकले पनि पछिल्लो अवधिमा क्रमशः ८३ करोड ४३ लाख ४० हजार र ५६ करोड ९७ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । अघिल्लो आवको सोही अवधिमा यी दुई बैंकहरुको चुक्ता पुँजी क्रमशः ८३ करोड ४३ लाख र ५१ करोड ९० लाख रुपैयाँ रहेको थियो ।