काठमाडौं,एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित तिलोत्तमा पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । पार्कमा ड्र्यागन फ्रुट, अम्बा, आँप, लिची, कटहरलगायत करिब दुई सय फलफूलका बिरुवा रोपिएको हो । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले बिरुवा रोपेर वृक्षारोपण कार्यक्रमको सुरुवात गरेका थिए । उनले एनएमबि बैंक दिगो विकासअन्तर्गत वातावरणमैत्री र पर्यावरण संरक्षणको लागि प्राथमिकता राखेर काम गरिरहेको बताए ।
जलवायु परिवर्तनको असरबाट पर्ने नकारात्मक प्रभावबाट जोगिन एनएमबि बैंकले मुलुकका सातै प्रदेशमा वृक्षारोपण तथा वातावरण सरसफाइका अभियानहरू निरन्तर गरिरहेको बताए । उनले हरित अर्थतन्त्र वा ‘ग्रिनोमिक्स’ अर्थात् वातावरणमैत्री, दिगो र समावेशी विकासलाई प्राथमिकता दिने गरी एनएमबि बैंकका सम्पूर्ण बैंकिङ कारोबार तथा कर्जा लगानीहरू गरेको बताउँदै नेपालको आर्थिक वृद्धिसँगै पर्यावरणको संरक्षण, स्वच्छ ऊर्जाको प्रवद्र्धन तथा जलवायु अनुकूललाई एनएमबि बैंकले आत्मसात गरेको उल्लेख गरे ।
तलोत्तमा ६ का अध्यक्ष गणेश पाठकले एनएमबि बैंकले तिलोत्तमा नगरपालिकाको तिलोत्तमा पार्कलाइ छनौट गरी वृक्षारोपण गरेकोमा आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा राख्दै धन्यवादज्ञापन गरे । पार्कका अध्यक्ष दिपक पाठकले तिलोत्तमा पार्कलाई उत्कृष्ट र सबैको आकर्षणको केन्द्र बनाउने अभियानमा आफूहरू लागेको जानकारी दिए । बैंकले हाल देशभरि दुई सय दुईवटा शाखा, एक सय ८७ वटा एटीएम र नौवटा एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।