तनहुँ — मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत ऐनापहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ। गोरखाबाट नारायणगढका लागि छुटेको ग २ ख १०७७ नम्बरको यात्रुबाहक बस आज दिउँसो मर्स्याङ्दी नदी किनारमा दुर्घटनामा परेको हो।तनहुँ प्रहरीका अनुसार दुर्घटनास्थलबाट हालसम्म २ जनाको उद्धार गरिएको छ भने अन्य यात्रुहरूको उद्धार कार्य जारी छ। बस नदी किनारमै उत्तानो अवस्थामा भेटिएको छ।
दुर्घटनाको कारण अझै खुल्न सकेको छैन। बसमा कति यात्रु सवार थिए भन्ने यकिन भइसकेको छैन। घटनास्थलमा सुरक्षाकर्मीहरू खटिएका छन् र उद्धार कार्य तीव्र बनाइएको प्रहरी स्रोतले जनाएको छ। स्थानीय बासिन्दा, ट्राफिक प्रहरी र नेपाल प्रहरीको समन्वयमा उद्दार कार्य भइरहेको छ। घाइतेहरूको अवस्थाबारे पनि विस्तृत विवरण आउन बाँकी रहेको र घटनास्थलबाट थप जानकारी संकलन भइरहेको बताइएको छ।