काठमाडौँ, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकको जिम्मेवारी मित्र बराललाई दिएको छ । बरालले विभागको ३०औँ महानिर्देशकका रुपमा आइतबार पद बहाली गरेका छन् । नेपाल टेलिकमबाट विल्डिङ कन्स्ट्रक्सन इञ्जिनियरको रुपमा जागिरे जीवन सुरु गर्नुभएका बरालले जलस्रोत तथा सिँचाइ विभागमा २०५१ सालदेखि सेवा सुरु गरेका हुन। विभाग मातहातका ठूला सिँचाइ आयोजनामा काम गरिसक्नुभएका अनुभवी र विज्ञको रुपमा चिनिनुहुन्छ । उनले यो क्षेत्रमा ३१ वर्ष बढीको अनुभव संगालेका छन् ।
पदबहाली गरेसँगै नवनियुक्त महानिर्देशक बरालले विभाग मातहातका कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिए । “हामीसँग पर्याप्त पूँजी छ, दक्ष छौँ, सूचना प्रविधि छ, यातायातको सुविधा छ, त्यसैगरी परियोजना छिटो सम्पन्न गर्ने हामीसँग अत्याधुनिक प्रविधि छ”, उनले भने, “यस्तो अवस्थामा हामीले समयमै आयोजना सम्पन्न गर्ने बाहेक कुनै बाहनाबाजीमा छुट हुने छैन ।”रासस