काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेडले आफ्ना सेयरधनीलाई ५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आइतबार सम्पन्न भएको सञ्चालक समितिको एक सय ६०औँ बैठकको निर्णयानुसार क्यापिटलको नवौँ वार्षिक साधारणसभा २०८२ भाद्र १८ गते (तदनुसार सेप्टेम्बर ०३, २०२५) बुधबार एनआईसी एसिया क्यापिटल लिमिटेडको कार्यालय थापाथलीमा गर्न लागिएको कम्पनीले जानकारी दिएको छ ।
उक्त वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०८१/०८२को सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने तथा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको ५० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्र्नेलगायतका प्रस्तावहरूउपर छलफल गरी पारित गर्ने कम्पनीको भनाइ छ । छोटो समयमा नै ग्राहकहरूमाझ लोकप्रिय बन्दै गइरहेको यस एनआईसी एसिया क्यापिटलले सातौँ वार्षिक साधारणसभासम्म आउँदा दुई सय ४० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भइसकेको छ ।