काठमाडौं । महालक्ष्मी विकास बैंक र भारतको अग्रणी वित्तीय संस्था एचडीएफसी बैंकबीच सीमा–पार वत्तीय सेवाहरूलाई प्रवर्द्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानीसम्बन्धी कार्य गर्न समझदारी भएको छ । समझदारीअन्तर्गत महालक्ष्मी विकास बैंकले ग्राहकहरूले भारतबाट नेपालमा भुक्तानी गर्ने मिल्ने प्रणाली सञ्चालनमा ल्याएको हो । यसरी भारतबाट नेपालमा भुक्तानी प्रणाली सञ्चालन गर्ने महालक्ष्मी विकास बैंक पहिलो विकास बैंक बनेको छ । दुवै बैंकले सम्पूर्ण प्रक्रियागत कार्य गरी परीक्षण कारोबार समेत गरिसकेका छन् ।
यसअन्तर्गत महालक्ष्मी विकास बैंकको एचडीएफसी बैंकले प्रयोग गर्दै आइरहेको अत्याधुनिक क्यास म्यानेजमेन्ट सेवाअन्तर्गत सीएमएस चेक कलेक्सन र इलेक्ट्रोनिक क्यास म्यानेजमेन्ट सेवामा पहुँच प्राप्त हुनेछ जसले गर्दा कुनै पनि व्यक्ति वा संस्थाले भारतबाट विभिन्न इलेक्ट्रोनिक माध्यमहरू जस्तैः नेसनल इलेक्ट्रोनिक फन्ड ट्रान्सफर, रियल टाइम ग्रस सेटलमेन्ट र फन्ड ट्रान्सफरको प्रयोग गरी भारतको एचडीएफसी बैंकमार्फत नेपालमा रहेको महालक्ष्मी विकास बैंकको खातामा सिधै रकम जम्मा गर्न सक्नेछन् । साथै भारतमा रहेका अन्य बैंकहरूको चेक जम्मा गरेर समेत नेपाल पैसा पठाउन सकिनेछ । एचडीएफसी बैंकसँगको सम्झौतासँगै नेपाल र भारतबीचको बैंकिङ सम्बन्धलाई थप मजबुत बनाउन तथा सीमा–पार व्यापार र रेमिटयान्समा संलग्न ग्राहकहरूलाई सहज, प्रभावकारी र प्रविधिमैत्री वित्तीय सेवा प्रदान गर्न सहज हुने विश्वास बैंकले लिएको छ । साथै यो प्रणालीको प्रयोगसँगै बैंकले ग्राहकहरूलाई गरेको डिजिटल नवप्रवर्तन र सेवा विस्तारको प्रतिबद्धतामा समेत सहयोग पुग्नेछ ।
हालै मात्र बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’मा भर्चुअल क्रेडिट कार्डको सुविधा थप गरेको छ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसात् गर्दै नेपाली जनताको घरदैलोमा अनवरतरूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको देशभर एक सय तीनवटा शाखा कार्यालय र आठ लाख ग्राहक रहेका छन् ।