काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वेबसाइट प्रणालीमा समस्या देखिएपछि लगानीकर्ताहरू एक घण्टादेखि अन्योलमा परेका छन्। सोमबार दिउँसो ३ बजेर १२ मिनेटपछि नेप्सेको वेबसाइटमा पहुँच अवरुद्ध भएको हो।बजार बन्द हुने बेलासम्म नेप्से परिसूचक १६ अंकले वृद्धि भएको देखिएको थियो। तर, ट्रेड मेनेजमेन्ट सिस्टम (TMS) मा भने परिसूचक १३ अंकले मात्र वृद्धि भएको देखिएको छ। कारोबार रकम १० अर्ब ८२ करोड २४ लाख रुपैयाँ पुगेको देखिएको छ। नेप्सेमा देखिएको यो प्राविधिक समस्या बारे आधिकारिक प्रतिक्रिया दिँदै नेप्सेका एक उच्च अधिकारीले वेबसाइटमा ‘ट्राफिक लोड’ बढी भएकै कारण समस्या आएको हुनसक्ने प्रारम्भिक अनुमान बताएका छन्। “हाम्रो मूल सिस्टममा भने समस्या छैन, वेबसाइट तानिएजस्तो देखिएको छ। कारण पहिचानमा छौं,” उनले भने। प्रविधिमा भएको यस्तो समस्याले बजार समापनपछिको वास्तविक अवस्थाबारे स्पष्ट जानकारी नपाउँदा हजारौं लगानीकर्ता प्रभावित भएका छन्।यसअघि पनि नेप्सेको वेबसाइटमा प्राविधिक समस्या देखिने गरेका थिए, तर यस्तो लामो समयसम्म सेवा अवरुद्ध भएको भने दुर्लभ हो। बजार नियामक निकाय र नेप्से प्रशासनले यस्ता समस्यालाई नियमित रूपमा समाधान नगरे लगानीकर्ताको विश्वासमा ठूलो आघात पुग्न सक्ने विश्लेषकहरूले चेतावनी दिएका छन्।