काठमाडौँ, राहदानी विभागले ६४ लाख नयाँ राहदानी छपाइका लागि जर्मनीका दुई कम्पनीसँग ठेक्का सम्झौता गर्ने तयारी गरेको छ। विभागले प्याकेज १ र प्याकेज २ अन्तर्गत प्रतिस्पर्धात्मक टेन्डर प्रक्रिया मार्फत दुई कम्पनी चयन गरेको हो। नयाँ व्यवस्थाबाट प्रतिराहदानी झन्डै १.५२ अमेरिकी डलर सस्तो पर्ने भएकाले कुल लागतमा झन्डै १ अर्ब ३५ करोड रुपैयाँको बचत हुने विभागको दाबी छ।
प्याकेज १ अन्तर्गत प्रिइनरोलमेन्ट, इनरोलमेन्ट डाटा म्यानेजमेन्ट र डेलिभरी सिस्टमको जिम्मा म्युहलबाउर आइडी सर्भिसलाई दिइएको छ भने राहदानी छपाइ उपकरणको जिम्मा भेरिडास कम्पनीलाई दिइएको छ। भेरिडाससँग गत सोमबार सम्झौता भइसकेको र म्युहलबाउरसँग केही दिनभित्र सम्झौता हुने तयारी भएको विभागले जनाएको छ।
विभागका महानिर्देशक तीर्थ अर्यालका अनुसार दुवै कम्पनी २०८१ फागुन ९ गते खोलिएको टेन्डरमा प्रतिस्पर्धा गर्दै छनोट भएका हुन्। केही कम्पनीले दिएको पुनरावेदन पनि अस्वीकार भएपछि सम्झौताका लागि प्रक्रिया अघि बढाइएको हो। सम्झौतापछि २१० दिनभित्र राहदानी छपाइ सुरु गर्नुपर्ने सर्त रहेको छ।
छपाइ प्रक्रिया सुरु भएपछि दुई वटा मेसिनले दैनिक ६ हजार राहदानी छपाइ गर्नेछन्। एक मेसिन घण्टाको पाँच सय राहदानी छाप्न सक्ने क्षमता राख्छ भने अर्को मेसिन वैकल्पिक रूपमा तयारी अवस्थामा राखिनेछ। कम्पनीले ९९.७ प्रतिशत सेवा उपलब्धताको ग्यारेन्टी पनि दिएको छ।
यसपालिको छपाइमा लागत घट्ने विभागको दाबी छ। नयाँ सम्झौताअनुसार प्याकेज १ अन्तर्गत प्रति राहदानी १.७४ डलर र प्याकेज २ अन्तर्गत ६.८७ डलर पर्नेछ। पहिले अमेरिकी कम्पनी आइडिमियाले २० लाख राहदानीको लागि सन् २०२० मा ठेक्का पाएको थियो। म्याद पटक–पटक थप्दै आइडिमियाले हालसम्म ७० लाखभन्दा बढी राहदानी छापिसकेको छ।
यसैबीच, सर्भर विवादसमेत उठेको छ। केही आलोचकहरूले ब्लेड सर्भर प्रयोग नगरी ¥याक सर्भर अनुमतिमा प्रश्न उठाएका थिए। तर विभागका सूचना प्रविधि निर्देशक सुनील कुमार केसीले ब्लेड र ¥याक सर्भर कार्यगत रूपमा उस्तै हुने बताउँदै यसको फरक खासै नपर्ने स्पष्ट पारेका छन्।
महानिर्देशक अर्यालले ब्लेड सर्भरमा ब्रान्ड परिवर्तन गर्न सकिने सुविधा भए पनि त्यसमा समस्या आउँदा नयाँ च्यासिस आवश्यक पर्ने भएकाले आवश्यकताको मूल्याङ्कन गरेर निर्णय गरिएको बताए। विभागले सेवा प्रभावकारी बनाउने उद्देश्यसहित लागत कटौती र समयको कुशल व्यवस्थापनमा ध्यान दिएको जनाएको छ।