काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । बोर्डले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी परीक्षाफल प्रकाशित गरेको घोषणा गरेको हो ।
बोर्डका अनुसार नियमिततर्फ ६१ दशमलव १७ र आंशिकतर्फ ३६ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वैशाख २१ गतेदेखि सञ्चालन गरिएको परीक्षामा नियमिततर्फ तीन लाख ९६ हजार तीन सय ४७ परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ४२ हजार सात सय ६५ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । यसमा ३८ दशमलव ८३ विद्यार्थीले ‘ननग्रेड’ प्राप्त गरेका बोर्डले जनाएको छ । एक लाख ५३ हजार आठ सय ८२ जना विद्यार्थी ननग्रेडेड भएका हुन् । सबैभन्दा बढी विद्यार्थी अंग्रेजी विषयमा अनुत्तीर्ण भएका छन् ।
यस्तै, आंशिकतर्फ एक लाख १४ हजार छ सय ४० विद्यार्थी सहभागी भएकोमा ४१ हजार आठ सय ४० ले ग्रेड प्राप्त गरेका छन् । समग्रमा कुल पाँच लाख ११ हजार पाँच सय २५ परीक्षार्थी सहभागी भएकोमा दुई लाख ८४ हजार तीन सय पाँच जनाले ग्रेड प्राप्त गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनका अनुसार नियमिततर्फ ११ र आंशिकतर्फ छ गरी १७ जनाको परीक्षा रद्द गरिएको छ ।
बोर्डका अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी १३ हजार पाँच सय दुई, ३.२१ देखि ३.६० जीपीए ल्याउने ५५ हजार आठ सय ९६, २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार दुई सय ६८, २.४१ देखि २.८० जीपीए ल्याउने ६९ हजार आठ सय १२, २.०१ देखि २.४० जीपीए ल्याउने आठ हजार नौ सय ६४ र १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी २३ जना छन् । गत वर्षभन्दा यो वर्ष नतिजा नौ प्रतिशतले वृद्धि भएको बोर्डले जनाएको छ । ननग्रेड आएका विद्यार्थीको ग्रेडवृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने बोर्डले जनाएको छ ।