दोलखा । जिल्लाको मेलुङ गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक उत्पादनसँग जोडेर उद्यमी बनाउन थालेको छ । यहाँका कृषकहरुले आलु किवी खुर्सानीलगायतका कृषि उपजहरुको व्यावसायिक खेती थालेका हुन् ।
पछिल्लो समय यहाँ उत्पादन भएको अकबरे खुर्सानी राजधानीका बजारमा समेत जान थालेको छ । स्थानीय बजारमा बढी भएको अकबरे खुर्सानीलाई काठमाडौं पठाउने गरेको किसानहरुको भनाइ छ । पालिकाको वडा नम्बर २ बाँसबोटेकी स्थानीय सम्झना खड्का बुढाथोकीले उत्पादन गरेको अकबरे खुर्सानीले अहिले काठमाडौंमा समेत बजार लिन थालेको छ । २९ महिने कृषि जेटीए अध्ययन गरेर व्यावसायिक कृषि कर्ममा लागेकी सम्झनाले उत्पादन गरेको अकबरे खुर्सानीको चरिकोटदेखि राजधानी काठमाडौंसम्म माग बढेको हो । उनले प्रतिकेजी दुईदेखि चार सय रुपैयाँमा कोसेलीको रूपमा बिक्री गर्न थालेको जानकारी दिइन् । साथै, उनले अकबरे खुर्सानीको बीउ उत्पादनका लागि नर्सरी समेत सञ्चालनमा ल्याएकी छिन् ।
गाउँपालिकाले दुईवटा गैरसरकारी संस्था हेफर र सामुदायिक विकास मञ्च नेपालसँगको साझेदारीमा पालिकाभित्रका करिब तीन हजार पाँच सय कृषकलाई कृषि व्यवसायमा जोडेको थियो । पालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा पालिकाभित्रका एक सय १९ वटा समूहमा विभिन्न कृषि कार्यक्रम गर्न एक करोड २० लाख रुपैयाँ छुट्याएर एक करोड पाँच लाख रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन गरिएको जनाएको छ । गाउँपालिकामा सञ्चालन भएका कार्यक्रमहरुमा पशुपालन तथा दुग्ध उत्पादन कार्यक्रम, तरकारी खेती कार्यक्रम र बाख्रापालनलगायतका कार्यक्रम थिए । तरकारी खेतीअन्तर्गत छ वटा कृषि समूहलाई खुर्सानी खेतीमा प्रोत्साहन गरिएको थियो । वडा नम्बर–२, ३, ४ र ५ का विभिन्न कृषि समूहले अहिले व्यावसायिक खुर्सानी तथा तरकारी खेती गरिरहेका छन् ।
गाउँपालिकासँगको समन्वयमा कृषकलाई २८ हजार चार सय ५४ वटा अकबरे खुर्सानीको बिरुवा वितरण गरिएको हेफर तथा सामुदायिक विकास मञ्च नेपालका कार्यक्रम संयोजक फरेन्द्र चौलागाईंले बताए । उनका अनुसार समूहभित्रकै कृषक सम्झना खड्काको नर्सरीबाट २८ हजार चार सय बिरुवा खरिद गरेर तीन सयभन्दा बढी स्थानीयलाई स्थानीय गाईखुरा महिला उद्यमी कृषि सहकारीमार्फत अकबरे खुर्सानीको बिरुवा वितरण गरिएको थियो । यहाँका दर्जनौँ किसानले गत वैशाख–जेठमा रोपिएको खुर्सानीबाट अहिले धमाधम आम्दानी लिन थालेका छन् ।
वडा नम्बर–२ बाँसबोटेका स्थानीयले असार–साउनको पहिलो सिजनमै पाँच/सात सय केजी खुर्सानी बिक्री गरेर राम्रो आम्दानी लिइसकेको उनले बताए । कृषकले उत्पादन गरेको हरियो, पाकेको अकबरे खुर्सानी, निउरो, काक्रोलगायतका कृषि उपजहरु काठमाडौंमा जिरी लेकाली हाटघरलगायतका थोक तथा खुद्रा पसलबाट कोसेलीको रूपमा बिक्री हुन थालेको छ । मेलुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा पनि उक्त कार्यक्रमलाई निरन्तरता दिन बजेट विनियोजन गरेको छ ।