काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले काठमाडौंको, बसुन्धरामा रहेको ‘एमएन अस्पताल’सँग विशेष छुट गर्नेगरी व्यावसायिक सम्झौता गरेको छ । यो व्यावसायिक सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले ‘एमएन अस्पताल’बाट प्रदान हुने विभिन्न सेवाहरू जस्तैः अपरेसन, प्रयोगशाला, एक्स–रे, औषधि, आदिमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस प्रकारको सहकार्यबाट ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा सरल, सुलभ र कफायतीरूपमा प्राप्त हुने विश्वास बैंकले लिएको छ । बैंकले आगामी दिनहरूमा पनि आफ्ना ग्राहकहरूको हितमा यस्ता सेवामूलक साझेदारहरू विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।
बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याउनुको साथै अन्तरदेशीय क्यूआर भुक्तानी सेवा पनि सञ्चालनमा ल्याएको छ । त्यसै गरी मोबाइल बैंकिङ, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मालगायतका अन्य कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।