अमेरिका । वारेन बफेटको बर्कशायर हाथावेको सञ्चाालन आम्दानी यो वर्षको दोस्रो त्रैमासिकमा ३.७९ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिको तुलनामा उक्त दरले सञ्चालन आय घटेको हो ।
यो यही वर्षको अन्तिमतिर प्रमुख कार्यकारी पद छोड्ने बफेटको योजना घोषणा गरेयताको पहिलो आम्दानी प्रतिवेदन हो । उनले उक्त पदमा ग्रेग अबेल रहने बताइसकेका छन् । अबेल हाल बर्कशायरको गैरबिमा व्यवसायको उपप्रमुख छन् । पहिलो छ महिनामा कम्पनीले २० अर्ब ८० करोड डलर सञ्चालन आय गरेको सार्वजनिक प्रतिवेदनमा देखिएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.८ प्रतिशतले कम हो । कम्पनीले दोस्रो त्रैमासिकमा कुल ११ अर्ब १६ करोड डलर आम्दानी गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा कम हो । गत वर्ष कम्पनीको आम्दानी ११ अर्ब ६० करोड डलर थियो ।
बर्कशायरको कुल आय समेत यो अवधिमा घटेर १२ अर्ब ३७ करोड डलर पुगेको छ । गत वर्षभन्दा यो ५९ प्रतिशतले कम भएको सीएनएनले जनाएको छ ।