काठमाडौँ । नेपाल सौर्य ऊर्जा उत्पादक सङ्घको २५औँ रजत जयन्ती समारोह उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारको ऊर्जा विकासको लक्ष्य पूरा गर्न सौर्य ऊर्जा उत्पादकको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
उनले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न सौर्य ऊर्जा उत्पादकको भूमिका महत्त्वपूर्ण रहेको बताए । मन्त्री खड्काले सरकारले उज्यालो दिन नसकेको ठाउँमा सौर्य विद्युत् उत्पादनमार्फत सङ्घले भूमिका निर्वाह गरेको उल्लेख गरे । सिँचाइ पुर्याउन नसकेको स्थानमा सौर्य उर्जा प्रणालीमार्फत सिञ्चित गरेर सङ्घले योगदान गरेकामा उनले आभार व्यक्त गरे ।
दिगो ऊर्जा विकासका लागि निजी क्षेत्रको लगानी र साझेदारीलाई अझ प्रभावकारी बनाउन सरकारले नीतिगत सहजीकरण गरिरहेको मन्त्री खड्काले स्पष्ट पारे । सरकारले लिएको १० वर्षे दिगो ऊर्जा लक्ष्यमा सङ्घको निरन्तर सहयोग र सहकार्य अपरिहार्य हुने उनको भनाइ छ । सरकारले सौर्य ऊर्जा क्षेत्रका लगानीकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले सौर्य विद्युत् खरिद दर पुनरावलोकन, प्रसारण लाइनको पहुँच विस्तार र बैङ्किङको व्यवस्था जस्ता विषयलाई प्राथमिकतामा राखेको ऊर्जामन्त्री खड्काले उल्लेख गरे ।