उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लास्थित हर्षिल क्षेत्रमा आरीघोप्टे (क्लाउडबर्स्ट) वर्षापछि आएको भीषण बाढीले विनाश ल्याएको छ। बाढीका कारण ४ जनाको मृत्यु भएको छ भने अन्य ५० भन्दा बढी मानिसहरू अझै बेपत्ता छन्।उत्तरकाशीका जिल्ला अधिकारी (डीएम) प्रशान्त आर्यका अनुसार लेदो र बाढीले गाउँघरका भौतिक संरचनाहरूमा समेत ठूलो क्षति पुर्‍याएको छ। मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै आफू वरिष्ठ अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको र घटनाक्रमलाई नजिकबाट अनुगमन गरिरहेको बताएका छन्।बाढी हर्षिलस्थित भारतीय सेनाको शिविरबाट करिब ४ किलोमिटर टाढा रहेको धराली गाउँमा आएको हो। खीर गढ नालीबाट आएको भीषण बाढीका कारण गंगोत्री धामसँगको सबै सडक सम्पर्क पूर्णरूपमा विच्छेद भएको छ। एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्, “होटलदेखि बजारसम्म सबै कुरा नष्ट भएको छ, मैले पहिले कहिल्यै यस्तो विपत्ति देखेको थिइनँ।” प्रहरी, एसडीआरएफ, एनडीआरएफ, सेना र अन्य उद्धार टोलीहरू बाढीग्रस्त क्षेत्रमा सक्रिय रूपमा परिचालनमा छन्। भारतीय सेनाले हालसम्म कम्तीमा १५ जनाको सफल उद्धार गरिसकेको छ।