काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले लघु कर्जा अतिरिक्त सुरक्षण योजना, २०८२ सञ्चालनमा ल्याएको छ । कोषका अनुसार ऋणीको मृत्यु, अशक्तता वा परियोजना नष्ट भई बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित लघु कर्जामा हुनसक्ने नोक्सानीको क्षतिविरुद्ध सुरक्षण प्रदान गर्ने उद्देश्यले लघु कर्जा अतिरिक्त सुरक्षण योजना, २०८२ प्रचलनमा ल्याएको छ । भक्तपुरमा आइतबार आयोजित एक कार्यक्रमबीच कोषले उक्त योजना सार्वजनिक गरेको हो । कार्यक्रममा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्त वित्तीय संस्थाहरूका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत एवं संस्थाका लघु कर्जा विभागका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।
कोषले घोषणा गरेको अतिरिक्त सुरक्षण योजनाले कोषको चालू सुरक्षण कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँसम्मको कर्जाको सुरक्षण गर्नेछ । योजनाले ऋणी तथा निजको पतिपत्नीको मृत्यु, स्थायी अपाङ्गता वा परियोजनाको नष्ट हुँदा बाँकी कर्जाको शत प्रतिशत दाबी भुक्तानी दिने व्यवस्था गरेको छ । योजनाको सदस्यता प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थाले नियमित सुरक्षण शुल्कमा शुन्य दशमलव १५ प्रतिशत थप सुरक्षण शुल्क तिर्नुपर्नेछ ।
सुरक्षण योजनाको व्यवस्थाले लघु, साना तथा मझौला उद्यम व्यवसायका लागि प्रवाहित संस्थागत कर्जा शत प्रतिशत सुरक्षित भई कर्जाको सुरक्षणका लागि चल–अचल सम्पत्तिको धितोलगायत अन्य सुरक्षण व्यवस्था गरिरहनुपर्ने झन्झट बैंक तथा वित्तीय संस्थाले लिनु नपर्ने अपेक्षा कोषले लिएको छ ।