काठमाडौं । एनएमबि बैंकले प्रहरीलाई उद्दार सामग्री हस्तान्तरण गरेको छ । मनसुनको मौसम र यसमा देखिने अस्थिरता तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत एउटा १६ फिटको सेल्फ–बेलिङ राफ्ट, लाइफ ज्याकेटहरू र अन्य विपत् उद्धार सामग्रीहरू नेपाल प्रहरीलाई मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालयमा एक कार्यक्रमबीच हस्तान्तरण गरेको हो ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत, गोविन्द घिमिरेले नेपाल प्रहरीका प्रतिनिधि प्रहरी अतिरिक्त महानिरीक्षक, टेकबहादुर तामाङलाई औपचारिकरूपमा उद्धार सामग्रीहरू हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा हस्तान्तरण गरिएका सामग्रीहरूमा रबर बोटसहित लाइफ ज्याकेटहरू र अन्य आपत्कालीन उपयोगी उपकरणहरू समावेश छन् । मनसुनको समयमा बाढी, डुबान तथा अन्य जलजन्य विपत् तथा आकस्मिक घटनाहरूको सम्भावना उच्च हुने भएकाले, यस किसिमको सहयोगले प्रहरीको कार्यक्षमतामा सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ ।
एनएमबि बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण, तथा विपत् व्यवस्थापनजस्ता विभिन्न क्षेत्रहरूमा निरन्तर योगदान पुर्याउँदै आइरहेको छ । यस प्रकारको सहयोगले समुदायमा बैंकको प्रतिबद्धता झल्काउने विश्वास बैंकको रहेको छ ।
बैंकले हाल देशभरि दुई सय दुई वटा शाखा, एक सय ८७ वटा एटीएम र नौवटा एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।