काठमाडौं । पर्यटकीय नगरी भक्तपुरमा विगत ४ वर्षदेखि सञ्चालित होटल भादगाउँ एन्ड रिसोर्टले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । व्यवसाय विस्तार गर्न आईपीओमार्फत सर्वसाधारणबाट १५ करोड रुपैयाँ जुटाउने तयारी गरेको हो । यसबाट होटललाई पाँचतारेमा स्तरोन्नति गर्ने, पूर्वाधार विकास गर्ने योजना छ । सेयर निष्काशन प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
यसका लागि भादगाउँ एन्ड रिसोर्टका प्रबन्धनिर्देशक निहाल राजभण्डारी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । आतिथ्य सेवामा आधारित नेवारी वास्तुकला र सांस्कृतिक वातावरणको वास्तविक झल्को दिने यो होटल सन् २०२१ मा स्थापना भएको थियो । युनेस्को विश्व सम्पदा सूचीमा परेको सहरको मध्यभागमा यो होटेल छ ।
यो होटलले हाल ४० वटा सुविधासम्पन्न कोठाबाट आफ्नो व्यवसाय गर्दै आइरहेको छ । सेयर निष्काशनपश्चात् आफ्नो व्यवसाय विस्तार गर्नका लागि एक सयवटा सुविधासम्पन्न कोठा, स्पा, फिटनेस सेन्टर, भूमिगत पार्किङस्थल, बाह्य बगैँचा, उच्चस्तरीय सेमिनार, कन्फरेन्स तथा डेस्टिनेसन वेडिङजस्ता अन्य सम्बन्धित सुविधाहरू निर्माण गर्ने प्रबन्ध निर्देशक राजभण्डारीले बताए । उक्त सेवाहरू थप गरेलगतैै स्थानीय स्तरमा रोजगारी सिर्जना र भक्तपुरको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ । होटलले प्रविधिमा आधारित सेवा व्यवस्थापन प्रणाली, हरित पर्यटनको अवधारणा तथा दिगो विकास लक्ष्यहरूप्रति प्रतिबद्ध रहँदै व्यवसाय विस्तारमा अग्रसर रहने योजना बनाएको छ ।