काठमाडौं, संघीय संसदमा प्रतिनिधित्व गर्ने सत्ता गठबन्धनका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस बाहेकका राजनीतिक दलहरूले सिंहदरबारमा बैठक गरेका छन्। नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकमा निर्वाचन आयोगले राजनीतिक दलहरूलाई सुझावका लागि पठाएको 'राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२' माथि गम्भीर छलफल भएको छ।
बैठकको अध्यक्षता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयबाट भएको जनाइएको छ। बैठकमा कार्यविधिका कतिपय प्रावधानहरू वर्तमान संविधान, राजनीतिक दलसम्बन्धी ऐन र कानुनसँग बाझिने भन्दै साझा धारणा बनाउनुपर्ने आवश्यकता महसुस गरिएको थियो।प्राप्त जानकारी अनुसार, राजनीतिक दलहरूको स्वायत्तता, अभिव्यक्ति स्वतन्त्रता र संगठन सञ्चालनसम्बन्धी अधिकारमाथि प्रश्न उठ्ने गरी आयोगले पेश गरेको मस्यौदाप्रति दलहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। बैठकमा कार्यविधिलाई संशोधन वा खारेज गर्नुपर्ने मागसमेत उठाइएको छ।
माओवादी केन्द्रको पहलमा आयोजित बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरू सहभागी थिए।दलहरूले आयोगको प्रस्तावित कार्यविधिलाई संविधान विरोधी ठहर गर्दै आवश्यक परेमा संयुक्तरूपमा धारणा सार्वजनिक गर्ने तयारीसमेत गरेका छन्। सुझाव दिने समयसीमा साउन २२ गतेसम्म तोकिएकाले त्यसअघि साझा अभिमत तयार पार्ने प्रयासस्वरूप यो बैठक आह्वान गरिएको बताइएको छ।