काठमाडौं । देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरुलाई बुधबार पत्र पठाएर बिलको भुक्तानी अनलाइन तथा क्युआरमार्फत डिजिटल भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
संघीय अस्पतालको सेवा डिजिटल बनाउने योजनाअनुसार पत्राचार गरिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरुमा हुने भीड व्यवस्थापनका लागि नौ बुँदे सुधार योजना कार्यान्वयनमा लैजान निर्देशन दिएका थिए । नागरिकलाई टिकट लिन तथा भुक्तानीका लागि सकेसम्म कम सास्ती र भीड कम हुने गरी काम अघि बढाउन अनलाइन भुक्तानीको निर्णय गरिएको हो ।
मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले अनुगमन समेत गर्ने तयारी गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्पतालहरुले मन्त्रालयसमक्ष जनाएको नौबुँदे प्रतिबद्धताअन्तर्गत नै भीड व्यवस्थापन गर्ने विषय समेत रहेको उल्लेख गर्दै अब अनुगमनमा कडाइ गर्ने बताए ।