काठमाडौं । नाइमा मोबिलिटी सोमा म्याक्ससको माइफा ७ एमभीपी विद्युतीय कार अनावरण गरिएको छ । केही समयअघि यही ब्रान्डकै इटेरोन९ विद्युतीय लक्जरी ४ डब्लूडी पिकअप समेत नेपालको मनाङ जिल्लामा लगेर लन्च गरिएको थियो ।
सात सिट क्षमताको यो लक्जरी एमपीभीलाई म्याक्ससको नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले भित्र्याएको हो । यो माइफा ७ नेपालमा प्रिमियम कार चढ्नेहरूका लागि उपयुक्त हुने कम्पनीको दाबी छ । साथै, एक्स्पोभरी माइफा ७ बुक गर्ने ग्राहकहरुलाई १० लाख रुपैयाँ र इटेरोन९ पिकअप बुक गर्नेलाइ पाँच लाख रुपैयाँ नगद छुटलगायत अन्य विशेष अफरहरू रहेका छन् । सात सिटर माईफा७ को मूल्य एक करोड २५ लाख रुपैयाँ र इटेरोन ९ डबल क्याब इलेक्ट्रिक पिकअपको मूल्य एक करोड नौ लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ । ९० किलोवाट आवर ब्याट्री क्षमता रहेको माइफा ७ ले डीसी फास्ट चार्जर सर्पोट गर्नेछ । ३० मिनेटमा नै ३० देखि ८० प्रतिशतसम्म चार्ज हुने भनिएको यस मल्टी–प्रपोज भेहिकलमा इलेक्ट्रिक स्लाइडिङ ढोका, ब्लाइन्ड स्पट मोनिटरिङ, ३६० डिग्री क्यामेरा, लेन–किप असिस्ट, स्वचालित इमर्जेन्सी ब्रेकिङ, अडप्टिभ क्रुज कन्ट्रोल सुरक्षाजस्ता फिचर्स रहेका छन् ।