काठमाडौं । बाबियाखर्क बचत तथा ऋण सहकारी संस्थाले २४ करोड ६९ लाख ९४ हजार १८ रुपैयाँ ऋण लगानी गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत बलदेवकुमार पौडेलका अनुसार संस्थाले आर्थिक वर्ष २०८१/०८२को असार मसान्तसम्ममा उक्त परिमाणमा ऋण लगानी गरेको हो ।
सेयर पुँजी चार करोड १२ लाख १८ हजार नौ सय ९८ रुपैयाँ रहेको संस्थाको यस अवधिमा जगेडा कोष तीन करोड १३ लाख ९० हजार रहेको छ भने कुल बचत रकम ३२ करोड ९५ लाख ८६ हजार नौ सय ४४ रुपैयाँ रहेको छ । कुल संस्थागत पुँजी छ करोड ४५ लाख ५२ हजार ४९ रुपैयाँ रहेको संस्थामा २०८२को असार मसान्तसम्ममा २२ दशमलव ८७ प्रतिशत अर्थात् नौ करोड ९७ लाख ५१ हजार नौ सय ७५ रुपैयाँबराबरको तरलता रहेको प्रमुख कार्यकारी पौडेलले जानकारी दिए । विभिन्न कोषहरूको रकम दुई करोड पाँच लाख ७५ हजार चार सय ३९ रुपैयाँ रहेको संस्थाको कुल सदस्य संख्या दुई हजार आठ सय ८४ र कुल ऋणी संख्या तीन सय ११ रहेको छ । आव २०८१/०८२को असार मसान्तसम्ममा संस्थाको कुल सम्पत्ति भने ४३ करोड ६० लाख ९० हजार आठ सय ८६ रुपैयाँ पुगेको छ ।
‘आव २०८१/०८२को यही अपरिष्कृत वित्तीय विवरणका आधारमा पनि संस्थाको वित्तीय अवस्था निकै सबल रहेको देखिन्छ’, प्रमुख कार्यकारी पौडेलले भने, ‘संस्थाले जहिले पनि बचतकर्ताको हितमा काम गर्दै आएकोले सञ्चालनको यति लामो समयसम्म आइपुग्दा आजको दिनसम्म हामीले एउटा मात्र धितो लिलाम गर्नुपरेको छ ।’
सबै ऋणको धितो सुरक्षित भएको र ऋणी सदस्यहरूले पनि समयमा नै ऋण चुक्ता गरेकाले पनि संस्था यहाँसम्म आउन सफल भएको उनी बताउँछन् । अहिले बजार त्यत्ति सहज नभएकाले कुनै पनि ऋणीले साँवा मात्र तिर्छु भन्दा संस्थाले ऋणीको अवस्था हेरेर ब्याज छुट दिएर संस्था पनि बच्ने र ऋणी पनि बच्ने किसिमले काम गरेको समेत उनले बताए । १० लाखभन्दा माथिको सबै कर्जाको धितो मूल्यांकन गर्ने गरिएको भन्दै संस्थामा अहिले आठ प्रतिशतको हाराहारीमा निष्क्रिय कर्जा रहेको र त्यसलाई चालू आर्थिक वर्षभित्रमा पाँच प्रतिशतभन्दा तल झार्ने लक्ष्य रहेको पनि प्रमुख कार्यकारी पौडेलले जानकारी दिए ।