काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले दुईदिने वार्षिक समीक्षा तथा चालू आर्थिक वर्षको रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । गोष्ठी यही साउन १६ र १७ गते काठमाडौंमा आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक, विभिन्न विभागका प्रमुखहरू तथा देशभरका शाखा प्रबन्धकहरूको सहभागिता थियो । गोष्ठीमा कम्पनीले आर्थिक वर्ष २०८१/८२को प्रगति विवरण प्रस्तुत गर्दै, हासिल गरिएका उपलब्धिहरूको समीक्षा गरिएको थियो । साथै, चालू आर्थिक वर्ष २०८२/८३का लागि तय गरिएका रणनीतिहरू र लक्ष्यहरू सम्बन्धमा विस्तृत छलफल गरिएको थियो ।
प्रमुख कार्यकारी अधिकृत नरेशकुमार रोकाले कम्पनीको आव २०८१/८२ को वार्षिक लक्ष्य पूरा गर्न महत्वपूर्ण योगदान दिने कर्मचारीहरूलाई धन्यवाद दिँदै कम्पनीले बीमाशुल्कको लक्ष्य मात्र पूरा गरेको नभई कम्पनीको समग्र अवस्थामा राम्रो प्रगति गरेको र कम्पनीको लक्ष्यबमोजिम ग्राहकको सन्तुष्टि अभिवृद्धि गर्ने कार्यमा समेत जोड दिए । साथै, नियमनकारी निकायको निर्देशनहरूको पूर्ण पालना गर्दै कर्मचारीहरूको भूमिकालाई अझ प्रभावकारी बनाउने उपायहरूमा समेत सुझाव संकलन गरिएको थियो । गोष्ठीमा शाखास्तरीय चुनौती, बीमा सचेतना अभिवृद्धि कार्यक्रम, नवीनतम बीमालेख, डिजिटल पहुँच विस्तार र जोखिम व्यवस्थापनलगायतका महत्वपूर्ण विषयहरूमा समेत गहन छलफल भएको थियो ।
कार्यक्रमको समापन सत्रमा सहभागीहरूले आ–आफ्नो अनुभूतिका आधारमा, सुझाव र आगामी कार्ययोजनालाई प्रभावकारी बनाउने रणनीति प्रस्तुत गरेका थिए । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड नेपाल बीमा प्राधिकरणबाट इजाजतप्राप्त निर्जीवन लघु बीमा कम्पनी हो, जसले मुख्यतः न्यून आयस्तर भएका समुदाय, विपन्न वर्ग तथा ग्रामीण क्षेत्रका नागरिकहरूलाई बीमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले सस्तो बीमा शुल्क, सरल प्रक्रिया र ग्रामीण पहुँचमा आधारित सेवा वितरण प्रणालीमार्फत बीमा पहुँच अभिवृद्धि गर्दै आएको छ ।
विसं २०७९ सालमा स्थापना भएको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले स्थापनाको छोटो अवधिमा पनि पूर्वमा पाँचथरदेखि पश्चिम दार्चुलासम्म गरी ३३ वटा कार्यालयहरू स्थापना गर्दै ग्राहकहरूमाझ लघुबीमामार्फत वित्तीय सुरक्षाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।