पर्सा — नेपालको पहिलो र सबैभन्दा ठूलो सुक्खा बन्दरगाह सिर्सियाको सञ्चालन जिम्मेवारी फेरि भारतीय कम्पनी प्रिस्टिन मेगा लजिस्टिक पार्क ले पाएको छ। इन्टर मोडल यातायात विकास समितिको आह्वानमा भएको खुला प्रतिस्पर्धी बोलपत्रमा सहभागी भई प्रिस्टिनले आगामी पाँच वर्षका लागि ४ अर्ब ७१ करोड रुपैयाँमा बन्दरगाह सञ्चालनको ठेक्का पाएको हो। प्रिस्टिन मेगाका कन्सल्ट्यान्ट हेमेन्द्रमोहन शाहीका अनुसार उक्त टेन्डरमा भारतीय रेलवेको सहायक कम्पनी कोंकर कर्पोरेसन इन्डिया मुख्य प्रतिस्पर्धी थियो। कोंकरले ४ अर्ब ५० करोड ९० लाख रुपैयाँमा बन्दरगाह सञ्चालन गर्ने प्रस्ताव राखेको भए पनि अन्ततः टेन्डर प्रिस्टिनले जितेको हो। यसअघि प्रिस्टिनले नेपाली कम्पनी भ्याली टर्मिनल प्रालि सँगको संयुक्त लगानी (Joint Venture) मा प्रिस्टिनन भ्याली नामक कम्पनीमार्फत ५ वर्षसम्म बन्दरगाह सञ्चालन गरिसकेको थियो।