काठमाडौं ,नेपाली महिला फुटबल टोलीले अन्तर्राष्ट्रिय फिफा वरीयतामा ऐतिहासिक उकाइ गर्दै १३ स्थानको सुधार गरेको छ। विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १०० औं स्थानबाट उक्लिँदै ८७ औं स्थानमा पुगेको हो।फिफाले प्रकाशित गरेको नयाँ अंकअनुसार नेपालले कुल १२४८.८९ अंक हासिल गरेको छ। हालै सम्पन्न एएफसी छनोट प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेपछि नेपाली टोलीले उल्लेख्य प्रगति गरेको हो।
नेपालले छनोट चरणमा लाओसलाई ९–० र श्रीलंकालाई ८–० को फराकिलो अन्तरले हराएको थियो। समूह चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग ३–३ को बराबरी खेलेको थियो। सोही खेलमा टाइब्रेकरमा ४–२ ले हार्दै प्रतियोगिताबाट बाहिरिएको भए पनि प्रदर्शनले वरीयता अंकमा सकारात्मक असर पारेको देखिएको छ।
दक्षिण एसियामा पनि सुधारको लहर
दक्षिण एसियाली मुलुकमध्ये भारतले ७ स्थान सुधार गर्दै ६३ औं स्थानमा स्थान बनाएको छ। बंगलादेशले झनै ठूलो उकाइ मार्दै २४ स्थान सुधार गरी १०४ औं स्थानमा उक्लिएको छ। पाकिस्तान ३ स्थान सुधारेर १५४ औं स्थानमा पुगेको छ भने श्रीलंका दुई स्थान तल झर्दै १६१ औं स्थानमा पुगेको छ। भुटानले ८ स्थान सुधार गर्दै १६३ औं स्थानमा स्थान बनाएको छ।
विश्व स्तरमा स्पेन शीर्ष स्थानमा
फिफा वरीयताको शीर्ष स्थानमा सन् २०२३ की विश्व विजेता स्पेन कायम छ। अमेरिका एक स्थान तल झर्दै दोस्रोमा पुगेको छ भने स्वीडेनले ३ स्थान सुधार गर्दै तेस्रो स्थान ओगटेको छ। इङ्ल्यान्ड चौथो, जर्मनी पाँचौं, फ्रान्स छैटौं र ब्राजिल सातौं स्थानमा रहेका छन्। नेपालको महिला फुटबल टोलीको यो उपलब्धिलाई विश्लेषकहरूले ऐतिहासिक र प्रेरणादायी कदमका रूपमा लिएका छन्।