काठमाडौं, भारत पुर्‍याएर मिर्गौला चोरी गरेको अभियोगमा मानव बेचबिखन अनुसन्धान ब्युरोले चार जनालाई पक्राउ गरेको छ। सिन्धुलीका ३७ वर्षीय खिलबहादुर भुजेलको मिर्गौला चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेकामध्ये तीन जनालाई काठमाडौँ जिल्ला अदालतमा संगठित अपराध र मानव तस्करी मुद्दामा म्याद थपका लागि प्रस्तुत गरिएको हो। ब्युरोका अनुसार पक्राउ परेकाहरूमा काभ्रेका राजकुमार परियार, समिर परियार र नुवाकोटका राकेश परियार छन्। उनीहरूलाई रोजगारको प्रलोभन देखाएर भारत लैजाने र त्यहाँ मिर्गौला निकाल्ने गिरोहसँगको संलग्नतामा अनुसन्धान अघि बढाइएको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार, थप एक जना पक्राउ परेका छन् भने उनीमाथिको अनुसन्धान जारी छ। प्रारम्भिक अनुसन्धानबाट गिरोहले आर्थिक रूपमा कमजोर अवस्थाका युवालाई निशाना बनाउने, रोजगारीको लोभ देखाउने र प्रत्येक व्यक्तिका लागि ५ देखि ७ लाख रुपैयाँ दिने प्रलोभनमा भारत पुर्‍याइ मिर्गौला तस्करी गर्ने गरेको पत्ता लागेको छ।ब्युरोले घटनालाई गम्भीर मानव तस्करीको संज्ञा दिँदै अन्य संलग्न व्यक्तिहरुको खोजी तीव्र पारिएको जनाएको छ।