काठमाडौं । सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तवविरुद्ध काठमाडौं जिल्ला अदालतले तीन दिन अनुसन्धान गर्न अनुमति दिएको छ । ११ करोड रुपैयाँ ठगी आरोपमा पक्राउ परेका उनीविरुद्ध प्रहरीले म्याद थपको माग गरेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सेयर कारोबार रकम फिर्ता नगरेपछि मीता अग्रवाल मुरारकाले श्रीवास्तवविरुद्ध जाहेरी दिएकी थिइन् । सोही आधारमा बुधबार बिहान श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेको थियो । यसअघि सेयर कारोबारकै नाममा ठगी गरेको आरोपमा पक्राउ परी छुटेका दीपेन्द्र अग्रवालले सेयर खरिद–बिक्री गर्ने विभिन्न १५ नाममध्येका दुई जना आफूहरूले पाउनुपर्ने रकम फिर्ता नदिएको भन्दै उजुरी दिएका थिए ।
मिता मुरारका अग्रवाल र ज्योति अग्रवालले आफूहरूले पाउनुपर्ने ११ करोड ५५ लाख नपाएको भन्दै उनीविरुद्ध जाहेरी परेपछि श्रीवास्तव आफैँ प्रहरी परिसर पुगेका थिए । प्रहरीले अदालतबाट उनीविरुद्ध अनुसन्धानको लागि तीन दिन म्याद पाएको छ ।