काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीहरुमा देखिएको अधिक तरलताको समस्या बजारको अवस्थाले निर्धारण हुने बताएको छ । यसलाई समाधान गर्न केन्द्रीय बैंकले अल्पकालीन अवधिको मौद्रिक उपकरण बिक्री गरेर नियन्त्रणमा लिने प्रयास गरे पनि यसले मात्रै नहुने राष्ट्र बैंकका सहायक प्रवक्ता एवम् सूचना अधिकारी सुमन न्यौपानले बताए । पछिल्लो समय कर्जा प्रवाह घटेकाले अधिक तरलताको समस्या देखिएको उनको भनाइ छ ।
उनले भने, ‘पछिल्लो समय विदेशी मुद्रा सञ्चितिसँगै वैदेशिक रोजगारीबाट प्राप्त आय रेमिट्यान्स रकम बढेको छ तर कर्जा प्रवाह हुनसकेको छैन । कर्जा घटेकाले पनि अधिक तरलताको समस्या देखिएको हो ।’
नजिकिँदै गरेको चाडपर्वसँगै बजार चलायमान हुने उनको आशा छ । चाडपर्वका बेला आयातसँगै सरकारी खर्च पनि बढ्ने र अर्कोतर्फ बैंक तथा फाइनान्स कम्पनीहरुले पनि बजार चलायमान हुँदा कर्जा बढाउने भएकाले अबको केही समयपछि अधिक तरलताको समस्या केही सहज हुन सक्ने उनले बताए ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख भएका धेरैजसो नीतिगत व्यवस्थाहरुलाई कार्यान्वनमा ल्याइसकेको छ । यसको सकारात्मक प्रभाव क्रमैसँग अर्थतन्त्रमा देखिन थालेको उनी बताउँछन् । ‘पछिल्लो समय बढेको सेयरबजार र सेयर कर्जा, व्यक्तिगत आवास र उत्पादनमूलक क्षेत्रतर्फको कर्जा प्रवाहमा भएको सुधारलगायतका बिविध कारणले पनि आगामी समय अधिक तरलता नियन्त्रणमा आउने देखिन्छ’, उनले थपे, ‘यसको लागि बजारको दिशा कस्तो हुन्छ, त्यो हेर्नुपर्छ ।’