काठमाडौं । बैंकहरुमा फेरि अधिक तरलताको समस्या देखिएको छ । बैंकिङ प्रणालीमा निक्षेप रकम बढे पनि कर्जाको माग अपेक्षाकृतरुपमा बढ्न नसकेको हो ।
सोही कारण नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष सुरु भएपछि पटक–पटक बैंकहरुबाट झण्डै तीन खर्ब रुपैयाँ खिचिसकेको छ । केन्द्रीय बैंकले साउन ४ देखि २१ गतेसम्म छपटक दुई खर्ब ९५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानिसकेको छ । यसअन्तर्गत साउन ४ गते ४२ दिन अर्थात् भदौ १५ गते परिपक्व हुने गरी बैंकिङ प्रणालीबाट ५० अर्ब तानिएको छ भने साउन ७ गते ५६ दिन अर्थात् असोज १ गते परिपक्व हुने गरी ८० अर्ब रुपैयाँ तानिएको छ ।
यसैगरी, साउन ११ गते २८ दिन अर्थात् भदौ ८ गते परिपक्व हुने गरी ५० अर्ब रुपैयाँ तानेको राष्ट्र बैंकले साउन १४ गते पुन ४२ दिन अर्थात् भदौ २५ गते परिपक्व हुने गरी २५ अर्ब रुपैयाँ खिचेको छ । साउन १८ गते पुन ४२ दिन अर्थात् भदौ २९ गते परिपक्व हुने गरी ५० खर्ब रुपैयाँ खिचेको राष्ट्र बैंकले पछिल्लोपटक साउन २१ गते भदौ २५ गते परिपक्व हुने गरी ४० अर्ब रुपैयाँ बजारबाट खिचेको छ । यसरी तानिएको कुनै पनि रकम अहिलेसम्म परिपक्व भएर बैंकिङ प्रणालीमा फिर्ता आइसकेको छैन ।
अधिक तरलता नियन्त्रण गर्नको लागि राष्ट्र बैंकले बिक्री गर्नै यस्तो मौद्रिक उपकरण वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले न्यूनतम ब्याज प्राप्त हुने गरी खरिद गर्दै आएका छन् । खरिदको लागि घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सीमा तोकिएको छ । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुमा धितोको रुपमा समेत राख्ने सक्ने व्यवस्था छ ।
यिनै सुविधाका कारण पनि बैंक तथा फाइनान्स कम्पनीहरुले कर्जा प्रवाहमा संकुचन आएको र लगानीयोग्य रकम थुप्रिएको अवस्थामा न्यूनतम ब्याजमा भए पनि यस्तो मौद्रिक उपकरणमा लगानी गर्दै आएका छन् । राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप रकम ७२ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुको मात्र कुल निक्षेप रकम ६४ खर्ब ७३ अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरुको कुल निक्षेप रकम सात खर्ब ५३ अर्ब रुपैयाँ रहेको छ । यस अवधिमा बैंकिङ क्षेत्रको कुल कर्जा रकम भने ५५ खर्ब ६५ अर्ब रुपैयाँ रहेको छ । यो कर्जामा पनि वाणिज्य बैंकहरुले मात्र प्रवाह गरेको कुल कर्जा रकम ४९ खर्ब ४४ अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरुले प्रवाह गरेको कुल कर्जा रकम छ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ ।
सो अनुसार बैंकिङ क्षेत्रको निक्षेप र कर्जाको बीचमा मात्र नौ खर्ब रुपैयाँको फरक देखिएको छ । अहिले बैंकिङ क्षेत्रमा कायम रहेको निक्षेप तथा कर्जा अनुपात सीडी रेसियो ७६ दशमलव तीन प्रतिशत रहेको छ । सोही आधारमा पनि अहिले बैंकिङ क्षेत्रसँग तीन खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम रहेको छ । अहिले यही रकम अनुत्पादक क्षेत्रमा प्रयोग नहोस्, दुरुपयोग नहोस् भन्दै राष्ट्र बैंकले मौंद्रिक उपकरण बिक्री गरेर बैंकिङ प्रणालीमा रहेको अधिक तरलता खिच्दै आएको छ ।