काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणसँगै बेरुजु फर्स्यौट र रुग्ण ठेक्का व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
सडक विभागको गत आर्थिक वर्षको कार्यसम्पादन समीक्षा कार्यक्रमको बिहीबार समापन सत्रमा उनले कार्यसम्पादनका हरेक चरणमा आर्थिक सुशासन कायम गर्नुपर्नेमा जोड दिए । गुणस्तरीय निर्माण कार्यलाई अघि बढाउन विभागअन्तर्गत रहेका प्रयोगशालाहरुको क्षमता विकास गरी पूर्णरुपमा सञ्चालनको वातावरण बनाउन उनले कर्मचारीहरुलाई निर्देशन दिए । पुल निर्माणको क्षेत्रमा देखिएका समस्यालाई मन्त्रालयले गम्भीररुपमा लिएको भन्दै उनले समस्याग्रस्त पुलको निर्माण कार्य अघि बढाउन विशेष ध्यान दिन आवश्यक रहेको बताए । देशभरिमा निर्माण सुरु भई अलपत्र परेका, ठेक्का लागेर पनि सुरु नभएका वा पूरा नभएका, त्रुटि देखिएका पुलहरुको समस्या लामो समयसम्म रहन नदिन उनले निर्देशन दिए ।
राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय महत्वका योजना, रुपान्तरणकारी कार्यक्रमजस्ता विशेष महत्वका क्षेत्रमा स्रोत साधनको अभाव हुन नदिने समेत उनले प्रतिबद्धता जनाए । यस्तै, उत्तर दक्षिण राजमार्ग, त्रिदेशीय कोरिडोर, राजस्व संकलनमा सहयोग पुग्ने संरचना, कृषि उपजको बजारीकरणलगायतमा सहयोग पुग्ने आयोजना, योजनामा समेत विशेष ध्यान दिने उनले बताए । यस्तै, मन्त्रालयका सचिव केशवकुमार शर्माले दशैंअघि नै देशभरिका सडक खाल्डारहित बनाउने काम अघि बढाउन निर्देशन दिए । गत आर्थिक वर्षको पुँजीगत खर्चको नतिजाबाट उत्साही मात्र नभई थप नतिजा आउने गरी काम गर्न आग्रह गरे ।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न कार्यालय, कार्यालय प्रमुख तथा निर्माण व्यवसायीलाई पुरस्कृत गरिएको थियो । दुई दिन सञ्चालन भएको कार्यक्रममा सडक विभागअन्तर्गतका देशभरिका कार्यालय प्रमुख, दातृनिकायका प्रतिनिधि तथा सरोकार राख्ने अन्य कार्यालयका प्रतिनिधिहरुको पनि सहभागिता रहेको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए ।