काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नती कोष र सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फन्ड र सनराइज फोकस्ड इक्विटी फन्डले आर्थिक वर्ष २०८१/८२को प्रतिफल घोषणा गरेको छ । योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको मंगलबार बसेको सञ्चालक समितिको एक सय ५५औ बैठकले आर्थिक वर्ष २०८१/८२का लागि असार मसान्तमा कायम रहेको खुद सम्पत्ति मूल्यको आधारमा लक्ष्मी उन्नती कोषको करसहित २० प्रतिशत, सनराइज फर्स्ट म्युचुअल फन्डको करसहित १४ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फन्डको करसहित १३ दशमलव ५० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।
आर्थिक वर्ष २०८१/८२को असार मसान्तमा लक्ष्मी उन्नति कोषको खुद सम्पत्ति मूल्य १२.४६, सनराइज फर्स्ट म्युचुअल फन्डको कोषको खुद सम्पत्ति मूल्य ११.९३ र सनराइज फोकस्ड इक्विटी फन्डको कोषको खुद सम्पत्ति मूल्य १२.१३ रहेको जानकारी गराएको छ । साथै, खुलामुखी योजना शुभलक्ष्मी कोषको १६ प्रतिशत, बन्दमुखी योजनाहरू लक्ष्मी भ्यालु फण्ड–२ को १५ प्रतिशत र सनराइज ब्लुचिप फण्डको १९ प्रतिशत प्रतिफल वितरणसम्बन्धी निर्णय यसअघि नै प्रकाशित गरिसकेको जानकारीे कम्पनीले दिएको छ ।