काठमाडौं । अग्नि मोटोइन्क प्रालिले नयाँ विद्युतीय स्कुटर ब्रान्ड ‘बिगस (बिजी) इलेक्ट्रिक स्कुटरहरू नेपाली बजारमा सार्वजनिक गरेको छ ।
कम्पनीले नाइमा मोबिलिटी एक्स्पो २०२५ को अवसरमा प्रोडक्ट लन्च इभेन्टमार्फत स्कुटरहरू सार्वजनिक गरेको हो । कम्पनीले बिगस(बिजी)का दुई मोडेलहरू बिजी आरयूभी३५० र बिजी सी१२ नेपाली बजारमा ल्याएको जानकारी दिएको छ । कम्पनीका अनुसार बिजी आरयूभी दुई भेरियन्टमा उपलब्ध छन् । आरयूभी ३५० आई–ई–एक्सको मूल्य दुई लाख ७९ हजार चार सय रुपैयाँ रहेको छ । यस्तै, आरयूभी म्याक्सको मूल्य तीन लाख २५ हजार तीन सय रुपैयाँ रहेको छ । साथै, बिजी सी१२ पनि दुई भेरियन्टमा उपलब्ध छन् । यसको सी१२ आई–ई–एक्सको मूल्य दुई लाख २८ हजार चार सय रुपैयाँ रहेको छ भने सी१२ म्याक्स ३.० को मूल्य तीन लाख चार हजार नौ सय रुपैयाँ रहेको छ ।
कम्पनीका अनुसार आरयूभी ३५० ले स्कुटर र बाइक दुवैको विशेषताहरूलाई समायोजन गरेको छ । यसमा १६ इन्चको ठूलो एलोय ह्विल्स, एक सय ६० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, ट्युब्युलर चेसिस फ्रेम र फुल मेटल बडीसहित, यो स्कुटर मजबुती र स्टाइल दुवैमा अगाडि छ । एक सय ६५ न्युटनमिटरको पिक टर्क, ७५ किलोमिटर प्रतिघण्टा टप स्पिड, र १८ डिग्री ग्रेडेबिलिटी प्रदान गर्ने पीएमएसएम इन–ह्विल हाइपरड्राइभ मोटरका साथै क्रुज कन्ट्रोल, हिल होल्ड, विभिन्न राइडिङ मोड्स, आईपी६७ रेटेड मोटर र ब्याट्रीजस्ता प्रविधि यसमा रहेका छन् ।
यसैगरी, बिजी सी१२ मा फराकिलो लेगरुम र सिटका साथै २३ लिटरको अन्डर–सिट स्टोरेज, १२.७ सेमी टीएफटी स्मार्ट डिस्प्ले, यूएसबी चार्जिङ, राइडिङ मोड्स (इको, राइड, स्पोर्ट) र रिभर्स मोड स्विचजस्ता स्मार्ट सुविधाहरू उपलब्ध छन् । यसमा रहेको एयर–कुल्ड ब्याट्री म्यानेजमेन्ट सिस्टम, आईपी ६७ रेटेड लिथियम आयन ब्याट्री सेल र तीन वर्षको ब्याट्री वारेन्टीले थप सुरक्षा दिने कम्पनीले जनाएको छ ।