म्याग्दी । पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक पहिरो खसेका कारण अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकासँगको सिधा यातायात अवरुद्ध भएको छ ।
पहिरो खसेका कारण म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा शुक्रबार बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक विशाल दर्जीले जानकारी दिए । सडक खुलाउने प्रयास भइरहेको उनले बताए । निरन्तर पहिरो खसेकाले सडक खुलाउन समस्या भएको छ ।
पोखरा–जोमसोम हवाई सेवा पनि प्रतिकुल मौसमका कारण बन्द छ । यसबाट स्थानीयबासीका साथै मुस्ताङ घुम्न जाने र फर्कने पर्यटक प्रभावित भएका छन् ।