जुम्ला । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको हाइस गाडी कालीकोट जिल्लाको टाकुल्लामा शुक्रबार बिहान दुर्घटना हुँदा एक बच्चा, एक महिलासहित सात जना घाइते भएका छन् । बा१झ ०९७६ नम्बरको फोर्स गाडी अनियन्त्रित भई करिब १०० मिटर तल तिला नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले घाइते सबैलाई जिल्ला अस्पताल कालीकोटमा उपचारका लागि लगिएको जानकारी दिए । दुर्घटनामा पाँच जना गम्भीर र दुईजना सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक रेग्मीले जानकारी दिए ।
त्यहाँको प्रहरी कार्यालयबाट दुर्घटनास्थल कालीकोटमा भएको जानकारी प्राप्त भएको हो । अहिले कालीकोटबाट प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको छ । घाइतेको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।