काठमाडौं । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीस्थित हर्सिल र धरालीमा एक्कासी आएको बाढीले गाउँ नै बगाएपछि नेपाली पनि परेको आशंका गरिएकामध्ये १३ जना भेटिएका छन् ।
नयाँ दिल्लीमा रहेको नेपाली राजदूतावासले १३ जना सकुशल भेटिएको जानकारी दिएको हो । भेटिनेहरुमा वीरेन्द्र बाबु, प्रशंसा शाह, कोमल शाह, रमन शाह रहेका छन् । उनीहरु एकाघरका हुन् । त्यसैगरी, दिनेश नामका एक जना पनि छन् । उनीहरुबाहेक सूर्य शाही, प्रवीण सिंह, नवराज बोहोरा, गणेश बहादुर शाही, राजबहादुर शाही, दीपेन्द्र शाही र नरेन्द्र शाही रहेको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार शुक्रबार र शनिबार उनीहरु सम्पर्कमा आएका हुन् । यसअघि जाजरकोट, धादिङलगायत अन्य जिल्लाहरुका नेपालीहरु सोही बाढीमा परेको बताइएको थियो । पालिकाहरुले आफ्ना क्षेत्रका नेपाली उक्त बाढीमा परेको भन्दै सूचना निकाल्न थालेपछि परराष्ट्रमन्त्री आरजु राणा देउवाले दूतावासलाई तत्काल उद्धार तथा खोजीको पहल गर्न निर्देशन दिएकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बाढीमा परेका भनिएकाको उद्धारको पहल भइरहेको जानकारी दिएका थिए ।