दोलखा । विगत चार वर्षदेखि ड्रागन फ्रुट खेतीमा जोडिएका वैतेश्वर–६ नाम्दुका मानबहादुर तामाङको नाम जिल्लामै उदाहरणीय बन्न थालेको छ । बुढेसकालमा उनले सुरु गरेको कृषि कर्मले उनलाई मनग्य आम्दानी पनि दिलाएको छ ।
२०७८ सालदेखि ड्रागन फलको व्यावसायिक खेतीमा लागेका तामाङ अहिले कृषि क्रान्तिमा रमाइरहेका छन् । खेती सुरु गरेको चौथो वर्ष अर्थात् यस वर्ष पहिलो सिजनमै करिब नौ लाख बराबरको फल बिक्री गरिसकेको उनले जानकारी दिए । उनी अहिले दोस्रो लटको फल टिप्न व्यस्त छन् । उनले दोस्रो लटमा साढे चार लाख बराबरको फल बिक्री हुने बताए । करिब दुई हजार पाँच सय बोट रहेको उनको फार्मबाट एक बोटबाट २५ केजीसम्म फल फल्ने गरेको छ । तामाङले पछिल्लो चार सातामा छ लाख बराबरको फल जिल्लाका स्थानीय बजार र चार लाख बराबरको फल काठमाडौं निर्यात गरेको जानकारी दिए ।
दुई रोपनीबाट सुरु भएको उनको ड्रागन फुट अहिले १० रोपनीमा फैलिएको छ । जिल्लामा नयाँ प्रजातिको फलका रूपमा रहेको ड्रागन फल अन्य फलफूलको तुलनामा महँगोमा बिक्री हुने गरेका कारण पनि राम्रो आम्दानी हुने गरेको कृषक तामाङको भनाइ छ । उनले खुद्रा बजारमा चार सय रुपैयाँ र एकैपटक धेरै लिन आउने व्यापारीलाई प्रतिकेजी तीन सय रुपैयाँमा दिने गरेका छन् । तामाङ भन्छन्, ‘ड्रागन खेतीबाट आफू सन्तुष्ट रहेको छु । सुरुसुरुमा लगानीमा फस्ने हो कि भन्ने चिन्ता लाग्थ्यो । छरछिमेकले पनि बौलाएछ कि क्या हो भन्थे अहिले आम्दानी राम्रो देखेर उनीहरूले नै तारिफ गरेको देख्दा खुसी लाग्छ ।’
तामाङले हालसम्म खेती सुरु तथा विस्तार गर्न करिब ५० लाख लगानी गरेको बताए । साथै, उनले लगानी बराबरको आम्दानी पनि लिइसकेको सुनाए । ‘१० रोपनी क्षेत्रफलमा अहिले दुई हजार पाँच सय बढी बिरुवाहरू रहेका छन्, प्रतिबिरुवा २५ देखि ३५ किलोसम्म उत्पादन हुँदा पनि १५ देखि २० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ’, उनले भने । तामाङले ड्रागन फ्रुटको फलसँगै बिरुवा समेत बिक्री गर्न थालेका छन् । उनले आफ्नै फार्ममा ड्रागन फ्रुटको नर्सरी पनि विस्तार गरेको बताए । दोलखा तथा रामेछापबाट बिरुवाको माग भएपछि फार्ममै बिरुवा उत्पादन गरेर बिक्री गर्न थालेको उनले जानकारी दिए ।
गत वर्ष करिब तीन सय बिरुवा बिक्री गरेका तामाङले यस वर्ष एक लाख रुपैयाँ बराबरको बिरुवा बिक्री गरिसकेको बताए । ‘नाम्दुको ड्रागन खेती जिल्लाभर विस्तार गर्ने सोचमा छु । कतिपय फार्म आउने साथीभाइ तथा आफन्तलाई कोसेलीको रूपमा बिरुवा दिएर पठाउने गरेको छु । केही कौसीमै ड्रागन फलाउन समेत थाल्नु भएको छ’, उनले भने । यस वर्ष तामाकोशी गाउँपालिकामा खेती विस्तार गर्न स्थानीय गणेश तामाङले एक लाख बराबरको बिरुवा लगेको उनले सुनाए । फाट्टफुट्ट अन्यत्र पनि बिक्री गरिरहेको तामाङले बताए ।
ड्रागन फलका लागि उष्ण र उपोष्ण क्षेत्र उत्तम मानिन्छ । यसको खेती दक्षिण मोहोडा भएको प्रशस्त घाम लाग्ने र सुमद्री सतहदेखि १४÷१५ सय मिटरसम्म उचाइ भएको जमिनमा गर्न सकिन्छ । यो फल वार्षिक ५०देखि एक सय ५० सेन्टिमिटर वर्षा र २०–३० सेल्सियस तापक्रम हुने ठाउँमा खेती गर्दा धेरै लाभ लिन सकिने अनुभव आफूले लिएको उनले बताए । पानी जम्ने माटोमा यसको बिरुवा हुर्किन नसक्ने भएकाले यसको लागि पानी नजम्ने ठाउँ रोज्नुपर्दछ । बलौटेदेखि दोमट माटोसम्ममा सजिलै खेती गर्न सकिने उनको भनाइ छ । कम मलिलो र १०–३०५ सम्म बालुवा भएको माटोमा पनि सजिलै खेती गर्न सकिन्छ । गर्मी ठाउँमा खेती गर्न सकिने यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ ।