धनगढी । कैलाली जेलको सुरक्षा संयन्त्र गुन्डा समूहको अगाडि लाचार देखिएको छ । जिल्ला कारागार कैलालीको सुरक्षा संयन्त्र दुईवटा गुन्डा समूहको अगाडि लाचार बन्न पुगेको हो ।
शुक्रबार राति ती गुन्डा समूहको घानमा परेर एक जना कैदीको मृत्यु नै भएको छ । ४९ जना कैदीबन्दी घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर छ । प्रहरी प्रशासनको चरम लापरबाहीले शुक्रबार मध्यरात कारागारभित्र रक्तपात भएको हो । त्यहाँ दुई गुन्डा समूहबीच सांघातिक झगडा भएको थियो । राति सुतिरहेका एक कैदीको समूहमाथि अर्को समूहले अन्धाधुन्ध सांघातिक हमला गरेको थियो ।
कारागारभित्रै यस्तो संगीन घटना हुनुमा सुरक्षा निकायको गम्भीर त्रुटि देखिएको छ । बिहीबार नै कैदीहरू बीच एकचरण झडप भइसकेको थियो । जसमा पाँच जना घाइते पनि भएका थिए । कैदीबीच योस्तरको वैमनष्यता देखिँदा पनि कारागार प्रशासन, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयले सतर्कता अपनाएको देखिँदैन ।
जेलभित्र दुई गुन्डा समूहको रजगज
कैलालीमा ‘नन्दु सरकार’ भनिने नवीन रावल र जयन्द्र शाह नेतृत्वका दुई समूह गुन्डागर्दीमा संलग्न छन् । पहिले विभिन्न सरकारी ठेक्कापट्टामा मोलमोलाइ गर्ने, धम्क्याएर चन्दा असुल्ने काममा यी समूह सक्रिय रहेको बताइन्छ । सुरुमा एकै समूहमा रहेका यी दुई गुन्डा समूह पछिल्ला चार–पाँच वर्षयता दुस्मनीमा उत्रिएका छन् । दुवै समूह एक अर्काको ज्यान लिनेस्तरमा उत्रिने गरेका घटनाहरू प्रहरीको रेकर्डमा छन् । दुवै समूहबीचको चर्चित घटना २०७८ कात्तिक २३ गते टीकापुरमा भएको ‘भूपेन्द्र बडूवाल’ हत्याकाण्ड हो । प्रहरीका अनुसार बडूवाल जयन्द्र शाह समूहकै भएकाले नन्दु सरकारको समूहले उनको हत्या गरेको थियो । नन्दु सरकारको समूह त्यो दिन जयन्द्र समूहका अर्का पात्र कपिल श्रेष्ठमाथि आक्रमण गर्न चाहन्थ्यो ।
श्रेष्ठले आफूमाथि आक्रमण गर्ने योजना बनाएको थाहा पाएपछि जवाफमा उनैमाथि आक्रमण गर्ने योजना बनाएको नन्दु सरकारको समूहले भूपेन्द्रलाई भेट्टाएपछि आक्रमण गरेको थियो । सोही घटनापछि नन्दु सरकार समूहसहित १९ जना पुर्पक्षका लागि कैलाली कारागारमा थिए । जसमा जयन्द्र समूहका कपिल श्रेष्ठ पनि कैलाली कारागारमै छन् । दुवै समूहबीचको बैमनस्यता कारागारभित्र पनि जारी थियो । कारागारमा रहेका तीन ब्लकमध्ये ‘सी’ ब्लकमा महिला कैदीबन्दी राखिएका छन् । ‘ए’ ब्लकमा नन्दु सरकारको समूह राखिएको थियो । ‘बी’ ब्लकमा कपिल श्रेष्ठलगायतका अन्य कैदीबन्दी थिए । पछिल्लोपटक असारमा सीडीओ गोगनबहादुर हमाल कारागार निरीक्षणमा जाँदा ब्लक ‘ए’मा मोबाइल फेला परेको थियो । त्यसपछि त्यहाँबाट सात जना कैदीलाई ब्लक ‘बी’ मा सारिएका थिए । त्यहीँबाट सुरु भएको थप मनमुटाबले असार २८ गते पनि हिंसात्मक अवस्था सिर्जना गरेको थियो । जसमा कारागारका नाइके खगेन्द्र बोगटी गम्भीर घाइते भएका थिए । बोगटीमाथि कपिल श्रेष्ठ नेतृत्वको समूहले आक्रमण गरेको बताइन्छ । त्यहाँबाट सुरु भएको हिंसाको सिलसिलाले कारागारमा तनाव बढ्दा जिल्ला प्रशासन कार्यालयले कैदीबन्दीलाई अन्य कारागार सरुवासम्म पुगेको थियो । सरुवा भएकाहरू पनि नन्दु सरकार समूहकै सदस्यहरू थिए । जसका कारण उनको समूह आक्रोशित बन्यो ।