काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२का लागि १८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । २९औँ वार्षिक साधारणसभाबाट प्रभु इन्स्योरेन्सले घोषणा गरेको बोनस सेयर र वित्तीय उपलब्धिले बीमा क्षेत्रमा सकारात्मक सन्देश दिएको छ । यसले बजारमा लगानीकर्ताको विश्वास अझ मजबुत बनाउने अपेक्षा समेत गरिएको छ ।
आर्थिक तथा बजारको प्रतिकूल परिस्थितिमा समेत कम्पनीले गत आर्थिक वर्षमा कम्पनीबाट उच्चतम नाफा आर्जन गर्दै सेयरधनीहरूलाई आकर्षक प्रतिफल प्रदान गरेको प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लले बताए । मुनाफा वितरणको उच्चतम उपलब्धिले प्रभु इन्स्योरेन्सलाई बजारमा थप सुदृढ र विश्वासिलो संस्थाका रूपमा स्थापित गरेको उनको भनाइ छ । अध्यक्ष मल्लका अनुसार प्रभु इन्स्योरेन्सले नियमनकारी निकायको पूर्णपालना गर्दै, आन्तरिक सुशासनलाई सुदृढ बनाउन विभिन्न नीतिगत सुधार र दीर्घकालीन रणनीतिक योजना अघि बढाइरहेको छ ।
ग्राहकलाई छिटो, छरितो र सहज सेवा उपलब्ध गराउने उद्देश्यले प्रभु इन्स्योरेन्सले अत्याधुनिक डिजिटल ट्रान्सफर्मेसन प्रविधि लागू गरिसकेको अध्यक्ष मल्लले बताए । डिजिटल माध्यमबाट नै दाबी भुक्तानी प्रक्रिया, पोलिसी नवीकरण, तथा अन्य बीमा सेवाहरूलाई अझ सरल र प्रभावकारी बनाएको अध्यक्ष मल्लले जानकारी दिए । उनले भने, ‘ग्राहकको सन्तुष्टि नै व्यवसायिक संस्थाको वास्तविक सफलता हो ।’
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले समाजसँग प्रत्यक्ष सम्बन्ध राखी समुदायको दिगो विकासमा योगदान पुर्याउने कार्यलाई प्राथमिकता दिएको प्रभु इन्स्योरेन्सका अध्यक्ष मल्लले बताए । स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा विपत् व्यवस्थापनजस्ता क्षेत्रमा प्रभु इन्स्योरेन्स सक्रिय रहँदै आएको उनको भनाइ छ ।