काठमाडौं । घर तथा भवन निर्माणको क्षेत्रमा काम गर्दै आएको कम्पनी ‘घर दरबार’ले एक सय रुपैयाँमा कुनै पनि प्रकारको घरको लागत विवरण प्रदान गर्ने भएको छ । कम्पनीका अनुसार पहिलो चरणमा एक सय वटा घरको लागत अनुमान विवरण प्रदान गरिनेछ ।
‘घरदरबार’ले निर्माण क्षेत्रमा रहेको अनियमितता हटाउन तथा घरधनीलाई निर्माणसम्बन्धी सबै जानकारी दिनका लागि सो अफर ल्याएको जनाएको हो । घर तथा भवन निर्माणको योजना बनाएका र निर्माणको काम गरिरहेकाहरुका लागि घर निर्माणमा हुने अनावश्यक खर्चको कटौती तथा कम लागतमा कसरी गुणस्तरीय काम सम्पन्न गर्ने भन्नेबारे जानकारी प्रदानका लागि यो अफर ल्याएको जनाइएको छ ।
अफरमार्फत सेवाग्राहीले १० लाख रुपैयाँसम्म बचत गर्न सक्नेछन् भने लागत घटाउने विभिन्न उपायबारे जानकारी प्राप्त गर्न सक्नेछन् ।
घरको डिजाइन सम्पन्न भएर पनि सन्तुष्ट हुन नसकेकाहरुले यो अफरमार्फत लागत अनुमान तथा निर्माण सुरुदेखि अन्त्यसम्मका आवश्यक सम्पूर्ण परामर्श पाउन सक्नेछन् । घर निर्माण सुरु गरेकाहरुको डिजाइनका आधारमा लाग्ने खर्च निर्धारण हुनेछ । सेवा लिन चाहनेले घरको ‘टु डी’ वा ‘थ्री डी’ डिजाइनको आधारमा लागतसम्बन्धी सम्पूर्ण जानकारी प्रदान गरिने ‘घर दरबार’ले जनाएको छ । पछिल्लो समय घर तथा भवन निर्माणमा प्रयोग हुने कमसल सामाग्री र निर्माणकर्ताको लापरबाहीले संरचना कमजोर हुने, निर्माण कार्य ढिलो हुने तथा लागत समेत बढ्दै गइरहेको अवस्थामा सार्वजनिक भएको यो अफरले धेरैलाई फाइदा पुग्ने कम्पनीको विश्वास छ । ‘कम्पनीको थापाथलीस्थित कार्यालयमा पुगेर अफरबारे पूर्ण जानकारी लिन सकिने छ ।