काठमाडौं । ‘नेसनल स्कुल क्विज च्याम्पियनसिप २०८२’ हुने भएको छ । नेपालय इन्टरनेसनल इभेन्ट्स प्रालिको आयोजना तथा नेसनल स्कुल स्पोट्र्स फेडरेस र निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)को सहकार्यमा प्रतियोगिता सञ्चालन गरिने भएको हो ।
आयोजकले यस च्याम्पियनसिपलाई केवल एक प्रतियोगिता मात्र नभई देशभरका विद्यार्थीको ज्ञान, आत्मविश्वास र सिर्जनशीलता अभिवृद्धि गर्ने शैक्षिक अभियानको रूपमा अघि बढाइने बताएका छन् । यसअघि सञ्चालन भएका अन्य क्विज प्रतियोगिताभन्दा फरक शैली र संरचनामा आयोजना गरिने बताइएको यो च्याम्पियनसिप तीन चरणमा सम्पन्न हुनेछ । सुरुमा जिल्लास्तरमा प्रतिस्पर्धा गरिनेछ, जसमा देशभरका ७७ वटै जिल्लाका विद्यालयहरू सहभागी हुनेछन् । भदौ २० गतेबाट सुरू हुने जिल्लास्तरीय प्रतिस्पर्धामा पाँच हजारभन्दा बढी विद्यालयको सहभागिता रहने अपेक्षा गरिएको छ । त्यहाँबाट छानिएका टोलीले प्रदेशस्तरमा प्रतिस्पर्धा गर्ने छन् भने अन्तिममा संघीय राजधानी काठमाडौंमा मंसिर ५ देखि ७ गतेसम्म ग्रान्ड फिनाले हुनेछ ।
प्रतियोगितामा सामुदायिक र निजी दुवै प्रकारका विद्यालयहरूलाई समावेश गरी सहरी तथा ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई समान अवसर दिइने आयोजकको भनाइ छ । ग्रान्ड फिनालेसम्म पुग्ने सहभागीहरूलाई छात्रवृत्तिसहित विभिन्न शैक्षिक अवसरहरू पनि प्रदान गरिनेछ । विजेता टोलीलाई स्कुटर र आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ भने उपविजेताले ल्यापटप र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । तेस्रो स्थान हासिल गर्ने टोलीलाई मोबाइल फोनसहित गिफ्ट ह्याम्पर दिइने छ। त्यसैगरी, अन्तिम स्पर्धामा पुग्ने सबै टोलीहरूलाई प्रमाणपत्र, ट्रफी, मेडल र सम्मान–पत्र प्रदान गरिनेछ । साथै, उत्कृष्ट क्विज मास्टर, आयोजक जिल्ला तथा प्रतिभाशाली विद्यार्थीहरूलाई विशेष सम्मान प्रदान गरिने जनाइएको छ ।