राजविराज (सप्तरी) । सदरमुकाम राजविराजस्थित बसपार्क सञ्चालनमा आउन सकेको छैन । उद्घाटन भएको दुई महिनाभन्दा बढी भयो तर बसपार्क सञ्चालनमा आउन नसकेपछि सवारीसाधन सडकमै पार्किङ गरिएका छन् । सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ ।
गत जेठ १५ गते बसपार्कको एक समारोहबीच राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले उद्घाटन गरे । तर अहिलेसम्म सवारीसाधनका पार्किङका लागि बनाइएको बसपार्कमा एउटा सवारीसाधन नआएका कारण राजविराजकै मुख्य सडकमै पार्किङ गरिँदा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ । बसपार्क सञ्चालनमा आए पनि सवारीसाधन मुख्य सडकमै पार्किङ गर्ने समस्या अहिलेसम्म हटेको छैन ।
चार दशकको पर्खाइपछि बनेको यस बसपार्क अहिले पनि सुनसान छ । समस्या यथावत् नै रहेकाले बसपार्क निर्माण गर्नु अर्थहीन भएको राजविराज नगरपालिका–३ का विन्दु चौधरीले बताए । आधुनिक र सुविधायुक्त उक्त बसपार्क सञ्चालनमा ल्याउन सम्बन्धित निकाय र बस तथा साना सवारी व्यवसायीसँग पहल नगरेका कारण अहिलेसम्म सञ्चालनमा नआएको हो ।
बसपार्क प्रयोगमा नआउँदा राजविराजबाट चल्ने रात्रिकालीन बस, यात्रुवाहक बस, मालवाहक सवारीलगायत सवारीसाधन पार्किङ जथाभावी गर्ने गरिएको राजविराज नगरपालिका श्याम रजकले बताए । उनले राजविराजको मुख्य बजारको सडक साँघुरो भएर दुर्घटनाको खतरा बढेको बताए ।
विसं २०७४ पुसमा सम्झौता भएको राजविराज बसपार्कको निर्माण २०७७ पुसमा सक्नुपर्ने भए पनि छ पटकसम्म म्याद थप गरिएको थियो । गत वैशाखमा मात्र बसपार्क निर्माण भएको थियो । राजविराज–२ राजदेवी चोकस्थित १९ हजार छ सय चार सय ४२ वर्ग किलोमिटर क्षेत्रफलमा निर्माण गरिएको उक्त बसपार्कमा सोधपुछ कक्ष तथा मुख्य प्रवेशद्वार, टिकट काउन्टर, पसल, रेस्टुरेन्ट, मिनी मार्केट हललगायत संरचना निर्माण गरिएका छन् ।