काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले यही साउन ३० गतेदेखि नबिल म्युचुअल फन्डअन्तर्गत दोस्रो खुलामुखी सामूहिक लगानी कोष योजना ‘एनआई ३१ योजना’को एकाइ निष्काशन गर्ने भएको छ ।
कम्पनीका अनुसार २५ करोड रुपैयाँको कोष आकार रहेको यो योजनामा १० रुपैयाँ अंकित दरमा दुई करोड ५० लाख एकाइ निष्काशन गरिनेछ । यसमध्ये ३७ लाख ५० हजार एकाइ व्यवस्थापक कम्पनीका लागि सुरक्षित राखिएको छ भने एक करोड १२ लाख ५० हजार एकाइ पहिलो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ । सर्वसाधारण लगानीकर्ताले न्यूनतम एक सय एकाइदेखि अधिकतम २५ लाख एकाइसम्म आवेदन दिन सक्नेछन् । एकाइहरूमा आवेदन दिने अन्तिम म्याद छिटोमा भदौ ३ र ढिलोमा भदौ १३ सम्म रहनेछ ।
‘एनआई ३१ योजना’ले पुँजी बजारमा सूचीकृत ३१ वटा उत्कृष्ट (ब्लुचिप) कम्पनीहरूमा मात्र लगानी गर्नेछ, जसले आकर्षक दीर्घकालीन प्रतिफल दिने उद्देश्य राखेको छ । यसअघि नै सफलतापूर्वक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले ‘नबिल इक्विटी फन्ड’ सञ्चालन गरिसकेको छ ।