काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा स्वदेशमै उत्पादित इलेक्ट्रिक रिक्साहरू (ई–रिक्साहरू)मा अवलोकनकर्ताको चासो धेरै देखिएको छ ।
मेगाटेक समूहले स्वदेशमै बनाएका सामुरार्ई ब्रान्डका सामुरार्ई लोड–किङ, सामुरार्ई भेजी क्लोज, सामुराई फुडिज, सामुरार्ई सुपर प्लस, सामुरार्ई प्लस, सामुरार्ई प्लस (बेस), सामुराई चिकन कार्ट, सामुराई इवा, सामुराई एक्स्ट्रिम, सामुराई पावर प्लस र सामुराई भेजी ओपनजस्ता मोडलहरू एक्स्पोमा राखेको थियो । यी ई–रिक्साहरूमा अवलोकनकताहरुले विशेष चासो राखेका थिए । यी ई–रिक्साहरू स्कुल भ्यान चलाउन, तरकारी र फलफूल बिक्री गर्न, कुखुरा र मासु ढुवानी गर्न, फोहोर संकलन गर्न, र फूल बगैँचामा पानी हाल्नेजस्ता थुप्रै कामका लागि एकदमै उपयुक्त छन् ।
मेगाटेक समूहले मोरङको बुढीगंगामा रहेको आफ्नो कारखानामा यी ई–रिक्साहरूको डिजाइनदेखि निर्माणसम्मको काम गर्ने गरेको छ । कम्पनीका प्रमुख सुरेश लोहनीले नेपाली सडक र बजारको आवश्यकता बुझेर यस्ता रिक्साहरू बनाएको बताए । यी सवारी साधनहरूले साना व्यवसायी, किसान, र गाउँपालिका–नगरपालिकालाई काम गर्न सजिलो बनाउने उनको भनाइ छ । उनका अनुसार मेगाटेकले ब्याट्री र धातुका पाट्र्स नेपालमै बनाउँछ । तर इलेक्ट्रोनिक्सलगायत केही सामान बाहिरबाट ल्याउने गरेको छ । हालसम्म कम्पनीले एक हजार युनिट रिक्साहरू बनाइसकेको जनाएको छ । दिनमा १० देखि १५ युनिट बनाउने क्षमता कम्पनीको छ ।
एक्स्पोमा सहभागीहरुले यी रिक्साहरूको बलियो बनावट, सस्तो मूल्य र बहुउपयोगी डिजाइनको खुलेर तारिफ गरेका थिए । मेगाटेकका सामुराई ई–रिक्साहरू नेपालको सहर र गाउँका हरेक खालका कामलाई ध्यानमा राखेर बनाइएका छन् । यी रिक्साहरू ४–५ वटा लेड–एसिड ब्याट्री लाग्छन्, जसले मध्यमदेखि लामो दूरीसम्म सञ्चालन गर्न सकिन्छ । यिनको वजन क्षमता आठ सयदेखि १३ सय ८० किलोग्रामसम्म छ । वावर क्षमता एक दशमलव ३४ देखि दुई दशमलव शून्य १२ हर्सपावर भएकाले सहरदेखि गाउँका सडकमा सजिलै सञ्चालन गर्न सकिन्छ । यिनमा १०००–१२०० वाटको मोटर प्रयोग भएको छ ।
साथै, यी रिक्साहरू वातावरणमैत्री छन् । यिनीहरू पेट्रोल वा डिजेलको सट्टा ब्याट्रीबाट चल्छन् । यी सवारी साधनहरू सस्तो, बलियो र मर्मत गर्न सजिलो रहेको मेगाटेकका लोहनीले दाबी गरे । कम्पनीले भारी सामान बोक्नेहरूका लागि सामुराई लोड–किङ, तरकारी बेच्न हिँड्नेहरूको लागि सामुराई भेजी क्लोज, कुखुरा र मासु बेच्नेहरूका लागि सामुराई चिकन कार्ट, सडकमै खाना पसल सञ्चालन गर्नेहरुका लागि सामुराई फुडिज बनाएको छ । यस्तै, स्कुल भ्यान र यात्रु बोक्नका लागि सामुराई सुपर प्लस, सामुराई प्लस र सामुराई प्लस (बेस) बनाइएका छन् । साथै, कम्पनीले सामुराई इवा, एक्स्ट्रिम, पावर प्लस र भेजी ओपन विशेष कामका लागि बनाएको छ । सामुराई भेजी ओपन खुला डब्बासहितको रिक्सा हो, जुन फूल बगैँचामा पानी हाल्न वा अन्य खुला ढुवानीका लागि उपयुक्त छ । यो रिक्साले बगैँचाको काम सजिलो बनाउने, पानी हाल्न र सामान बोक्न एकदमै सुविधाजनक हुने लोहनी बताउँछन् । यस्तो ई–रिक्सा दूध ढुवानीका लागि पनि तयार गरिरहेको उनले बताए ।
कम्पनीले पानी ट्याङ्करको नौ लाख, गार्वेज (फोहर) कार्टको छ लाख ५० हजार, कुखुरा बोक्ने रिक्साको पाँच लाख पचास हजार, स्कुल भ्यानको छ लाख, तरकारी बोक्ने रिक्साको चार लाख ५० हजार मूल्य राखेको छ । मेगाटेक समूहले भविष्यमा थप नयाँ मोडलहरू ल्याउने योजना पनि बनाएको छ । सामुराई इवा, एक्स्ट्रिम र पावर प्लसजस्ता मोडलहरूले विशेष कामका लागि नयाँ सम्भावना खोल्नेछन् । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा मेगाटेकका सामुराई ई–रिक्साहरूले विदेशी उत्पादनसामु प्रतिस्पर्धा गरिरहेका छन् ।